हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नु परेको छ । भत्ता वितरणमा बैकिङ प्रणाली लागुभएसंगै मकवानपुरगढीका जेष्ठ नागरीकहरुले विगत डढे बर्षदेखि सास्ती खेप्नु परेको हो ।
मकवानपुरगढी गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । जसमा वडा नं.१ र ८ मा वडामै जेष्ठ नागरीक भक्ता वितरण कार्यक्रम सञ्चालन गरेको छ भने बाँकी २,३,४,५,६,७ नम्बर वडामा छैन । ती वडाका जेष्ठ नागरीकहरु घण्टौ पैदल हिडेर वडा नं.३ मक्रान्चुली गाउँपालिका कार्यालय नजिकै रहेको बैंकमा धाउन बाध्य छन् ।
मकवानपुरगढी गाउँपालिकाले जारी गरेको सामाजिक सुरक्षा भत्ता सम्बन्धी सुचना ।

वडामा वृद्धवृद्धा भत्ता वितरण कार्यक्रम सञ्चालन नभएका ६ वटा वडाको कुरा छोडौँ, सुरु भएका २ वटा वडामा समेत कार्यक्रम प्रभावकारी हुन सकेको छैन । वडा नं.८ बुढीचौरमै भत्ता वितरण गरिएपनि प्राविधिक समस्या देखाएपछि बैंकमै जानुपर्ने बाध्यता रहेको जेष्ठ नागरीकहरुको गुनासो छ ।
मकवानपुरगढी गाउँपालिकाले बैंकसंग समन्वय गरी वृद्धवृद्धालाई प्रत्येक वडा कार्यालयमा भत्ता वितरण गर्ने निर्णय गरेको थियो । तर पालिकाले निर्णय कार्यान्वयमा हेलच्याक्राई गर्दा मकवानपुरगढीका जेष्ठ नागरीकहरुले सास्ती खेप्नु परेको हो । सडक सञ्जाल सन्तोषजक भएपनि भत्ता बुझ्न बैंकसम्म आउन यातायातको सुविधा समेत छैन । वृद्धवृद्धाहरु दैनिक ३/४ घण्टा पैदल हिड्न बाध्य छन् ।
पालिकाको वडा नं.७,६,५,४,२ मा भौगोलिक रुपमा विकट क्षेत्रहरु पनि छन् । बैंकमा भत्ता लिन घण्टौ लाइनमा बसेपनि कर्मचारी अभाव र प्राविधिक समस्या देखाउँदै दिनभरी बैंकमा लाइन बसेर खाली हात फर्किनु परेको जेष्ठ नागरीकहरुले गुनासो गरेका छन् ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख रघुनाथ हुँमागाईले कार्यापालिकाको निर्णय अनुसार २ वटा वडामा परीक्षणको लागि कार्यक्रम सञ्चालन गरिएको बताए । उनले चालु आर्थिक बर्षको अन्त्यसम्ममा जेष्ठ नागरीक भत्ता ८ वटै वडा कार्यालयमै पुगेर वितरण गरिने उनले बताए । बैंकमा कर्मचारी अभाव र प्राविधिक त्रुटिका कारण पनि समस्या देखिएको उनले बताए ।
नविल बैंक मक्रान्चुली शाखाका प्रमुख पुस्करराम महत्वले सबै वडामा भत्ता वितरणका लागि पालिकाले आफुहरुसंग समन्वय नगरेको बताए । हाईस्पीड इन्टरनेट, सुरक्षा व्यवस्था सहित पालिकाले व्यवस्थापकीय जिम्मेवारी लिए ८ वटै वडा पुगेर सामाजिक सुरक्षा भत्ता विरतण गर्न सकिने बताए । उनले इन्टरनेट कमजोर भएको कारण बैंकको सफ्टवेयर नचल्दा वडा नं.८ मा भत्ता वितरण प्रभावकारी नभएको बताए ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका अनुसार पालिकाभित्र २२ सय भन्दा बढी सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा रहेका छन् ।