हेटौंडा – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट हेटौंडा उपमहागरपालिकाको प्रमुख र उप्रमुखको नाम सिफारिस गरिएको छ । आइतबार भएको उपमहानगर कमिटीको बैठकले प्रमुखमा ९ र उप्रमुखमा ७ जनाको नाम सिफारिस गरिएको हो ।
बैठकबाट सर्वसम्मत उम्मेदवार चयन गर्न नसकेपछि मेयर र उपमेयर नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि बर्तमान मेयर हरिबहादुर महत देखि संविधान सभा सदस्य अनन्त पौडेल रहेका छन् ।
हेटौंडाको मेयरमा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना, जिल्ला कमिटी मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला सचिवालय सदस्यहरु मदन दाहाल, ध्रुव चौलागाईं, गणेशकुमारी प्रधान, संगठित सदस्य विके महर्जन सिफारिस भएका छन् ।
त्यस्तै उपमेयर पदका लागि सुमित्रा काफ्ले, सीता बिष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाल सिफारिस भएका छन् । अब नगरकमिटीको बैठक यही चैत २९ गते बस्ने छ । सो बैठकबाट सर्वसम्मत उम्मेदवार चयन नभए सबैको नाम प्रदेश कमिटीमा पठाउने बुझिएको छ ।
२०७४ मा भएको स्थानीय चुनावमा हेटौंडा उपमहानगरमा एमालेका मेयर हरिबहादुर महत २३ हजार १२४ मतसहित विजयी भएका थिए । उनले गठबन्धनका उम्मेद्वार कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतको अन्तरले पराजित गरेका थिए । पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए ।
उपमेयरमा एमालेकी उम्मेद्वार मीनाकुमारी लामाले चुनाव जितेकी थिइन् । उनले गठबन्धनका उम्मेद्वार माओवादीका बलराम बललाई ६ हजार ४२६ मतले पराजित गरेकी थिइन् । लामाले २३ हजार ४३७ र बलले १७ हजार ११ मत ल्याएका थिए ।
एमाले विभाजनपछि मेयर महत एमालेमै छन् भने उपमेयर लामा नेकपा एकीकृत समाजवादीतर्फ छिन् । त्यस्तै हेटौंडा उपमहानगरको १९ वडामध्ये नेकपा एमाले १२, नेपाली कांग्रेस ५ र माओवादी केन्द्रले २ वडामा जितेको थियो ।