हेटौंडा, ६ नम्बर वडामा सवारी दुर्घटनाबाट एक व्यक्तिको मृत्यु
हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ चौघडाबजार क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
कान्तिलोकपथ सडक खण्डमा हेटौंडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले पैदल यात्री जनक राईलाई ठक्कर दिएको थियो। शान्तिटोल बस्ने ६८ वर्षीय राईलाई ठक्कर लाग्दा टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका राईलाई हेटौंडा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि भरतपुर चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको थियो। तर, उपचारका क्रममा बिहान ८:३५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका छन्।
दुर्घटनामा संलग्न अटो र चालक शंकर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बारुतेका ३१ वर्षीय सार्कीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा ईलाका प्रहरी चौकी हेटौंडाका प्रमुख ध्रुव बहादुर श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनास्थल चौकीबाट ६०० मिटर पूर्वमा पर्छ। घटनाबारे थप अनुसन्धान जारी छ।