प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, कहाँ कति विनियोजन ? (पूर्णपाठ)

२०७९ असार १२, आईतबार १३:५० बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको आइतरबार बसेको ११ औँ बैठकमा उपमेयर राजेश वानियाले आगामी आवको लागि २ अर्ब ७१ करोड ९७ लाख ७२ हजार ८२० रुपैयाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । यो बजेट चालुआर्थिक बर्ष भन्दा ११ करोड ६४ लाख १० हजार बढी बजेट हो ।

प्रस्तुत बजेटको खर्च ब्यहोर्न सबैभन्दा बढी संघिय सरकारको अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख, आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख ५३ हजार ८२०, राजस्व बाडफाँटबाट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ४९ हजार र अन्य आय र संघसंस्थाको अनुदानबाट १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

उपमहानगरले कुल बजेटमा सबैभन्दा धेरै बजेट पुर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख खर्च अनुमान गरेको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख ६६ हजार ८२०, सामाजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासमा ७ करोड ३३ लाख ५० हजार, अन्य विविध कोषमा ९९ लाख र बागमती प्रदेश सरकारबाट हस्तान्तरित आयोजनाहरुमा ६ करोड ३ लाख ७० हजार खर्च गर्ने योजना बनाएको छ ।

हेटौंडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रुपैयाँ, हेटौंडा–४, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रुपैयाँ, बृहत्तर चक्रपथ निर्माण गर्न ३ करोड रुपैयाँ, वडा तथा बस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रका लागि ३ करोड रुपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रुपैयाँ, विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि ३ करोड ५३ लाख रुपैयाँ, डाक्टर पढाउनका लागि मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले समग्र खेलकुद प्रतियोगिताहरु आयोजना, सहभागिता, प्रशिक्षण खेल सामाग्री वितरण, खेल पुर्वाधार निर्माण लगायका कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ३ करोड ७३ लाख रकम विनियोजन गरेको छ । जसमा सबैभन्दा बढी थप मिनी रंगशाला र फुटसल निर्माण सुरुवात गर्न ८० लाख विनियोजन गरेको छ भने पिप्ले क्याम्पा रंगशालाको थप पुर्वाधार निर्माणको लागि २५ लाख विनियोजन गरेको छ । त्यस्तै फुटबल खेलको नियमित प्रशिक्षणको लागि एकेडेमी संचालन गर्न ७५ लाख विनियोजन गरिएको छ । उता स्थानीय तह सहिद स्मृती मकवानर गोल्डकपको लागि २५ लाख विनियोजन गरेको छ ।

शिक्षातर्फ दिवा खाजा तथा अनुदान कार्यक्रमको लागि ३ करोड ५३ लाख, निःशुल्क पाठ्यपुस्तक अनुदानको लागि १ करोड ७५ लाख, निःशुल्क सेनेटरी प्याडको लागि ८० लाख, शैक्षिक गुणस्तर सुदृढिकरण तथा कार्यसम्पादनमा प्रत्साहन गर्न १ करोड ४६ लाख, सामुदायिक विद्यालका विद्यार्थीहरुका लागि छात्रावृत्तिमा ७९ लाख विनियोजन गरेको छ ।

समाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेटको कायक्रम संचालनको लागि उपमहानगरले ९ करोड ५३ लाख विनियोजन गरेको छ । सुविधा सम्पन्न प्रसुती अस्पताल र बर्थिङ् सेन्टर संचालन गर्न एक करोड, सिमान्तकृत तथा गरीबको १५१४ घर परिवारको स्वास्थ्य विमा गर्न ५३ लाख, महिला स्वयंसेविकाको सेवा सुविधाको लागि ७० लाख, उपमहानगरको स्वामित्वमा स्वास्थ्य विमा गर्न ४५ लाख विनियोजन गरिएको छ ।

हेटौंडा उपमहानगरले तयार पारेको आगामी आर्थिक बर्षको अनुमानित बजेट(पुर्णपाठ)