मकवानपुर – मकवानपुरमा प्रहरीले ११ ग्राम हिरोइन जस्तो देखिने धुलो पदार्थ र ६०० एम्पुल लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले १० कात्तिक राति २३:०० बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११, नमुना टोलबाट सुजन गुरुङ (२३) र अजय गहतराज (३३) लाई चार ग्राम हिरोइन जस्तो देखिने लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी, १० कात्तिक साँझ १८:३० बजे प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौंडा वडा नं. १, चौकीटोलस्थित अरुण नेपाली (२३) को डेराबाट थप ७ ग्राम हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ।
यसैबीच, प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १५, पिपलबोटस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँचको क्रममा स्कुटरमा फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ६०० एम्पुल लागूऔषध डाइजेपाम फेला परेको छ। उक्त स्कुटरमा सवार इलाम निवासी दिपेश श्रेष्ठ (३५) र पर्सा निवासी लालबाबु पासवान (२४) लाई पक्राउ गरिएको हो।
पक्राउ परेका सबै आरोपीहरूलाई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले लागूऔषध ओसारपसारको क्रम बढेको संकेत गरेको भन्दै प्रहरीले सुरक्षा निगरानी कडा बनाउने योजना बनाएको छ।