हेटौंडा – मकवानपुरका ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।
मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मतदान सुरु भएको हो । जिल्लाको पालुङ्ग बहुमुखी क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ ।
मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने बताईएको छ ।