प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ढिडोसंग लोकल कुखुराको मासु र माछा, नवराज 'बा' को`मा पाक्छ(भिडियोसहित)

२०८० जेठ १७, बुधबार १४:५५ बजे

हेटौंडा – महेन्द्र राजमार्ग, पूर्वपश्चिम गुड्ने सवारीको चाप । त्यही राजमार्गको छेवैमा दुई ठूलो वरपिपल, त्यसैको फेदमै जस्ताले छाएको सानो छाप्रो । झट्ट हेर्दा होटल जस्तो देखिदैन, तर त्यहाँ बन्ने मकै, फापर, कोदो मिश्रित ढिडोसँग लोकल माछा र लोकल कुखुराको मासुको स्वाद्ले ग्राहकहरुले स्टार होटलहरुलाई नै विर्सन्छन् । त्यो हो, मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित नवराज होटल ।

पहिलो ढिडोलाई गरिबले मात्रै खाने खानाका रुपमा लिइन्थ्यो, तर अहिले ढिडोको पहिचान फेरिएको छ । दाउरा चुलोमा बनाएको घरेलु स्वादको ढिडोसँग लोकल कुखुरा र माछाको स्वाद लिन कहाँ जाने भन्नेहरुका लागि यो होटल रोजाईमा परेको छ ।

यस होटलको खासिएत घरेलुशैलीमा आँखा अगाडीनै परिकारहरु बनाइन्छ । दाउराको आगोले उम्लिएको कराईको पानीमा पिठो हालेर दाबिलोले मस्काएको ढिडोसंग कुखुराको मासु र माछाको छिपछिपे झोलमा ढिडोका डल्ला चोप्दै गरेकाहरु मानिसहरु देशभरका भेटिन्छन् । यहाँ काठमाडौं, पोखरा, भरतपुर, बुटवल, दिपायल, हेटौंडा, वीरगञ्ज लगायत शहरबाट मानिसहरु आउने गरेका छन् ।

यस होटलका सञ्चालक नवराज अर्याल र वेलमाया अर्याल हुन् । उनीहरुले होटल सञ्चालन गरेको ४० बर्षेअवधिमा ग्राहकको मुखबाट खाना नमिठो भो भन्ने सुन्नु परेको छैन । आफ्नो होटलको खाना पहिलो पटक खाएर जानेहरु दोहोर्याएर, तेहेर्याएर..... नियमित आउनेहरु गरेको अर्याल दम्पती बताउँछन् ।

गाउँघरकै खेतबारीमा उत्पादन भएका मकै, कोदो, फापर, तरकारीहरु, स्थानीय खोलाको माछा र कुखुराको परिकारले ग्राहकलाई आकर्षित गरेको अर्याल दम्पतीलाई विश्वास छ । ‘हाम्रोमा गाउँघरबाटै ल्याएको कुरा बन्छ, त्यसैलाई ग्राहकहरुले मन पराइदिनु भाको छ ।’ अर्याल दम्पतीको एकै स्वरमा भन्छन् ।

खाना खुवाएरै ग्राहकको मन जितेका अर्याल दम्पती करिब चार दशक होटल व्यवसाय गरेर एउटा राम्रो घर बनाउन नसकेकोमा चिन्ता छ । खाना खाएर जाने ग्राहकहरुले ‘सस्तोमा यति मिठो खाना खुवाउनु भयो, हजुरलाई धेरै धेरै धन्यावाद’ भन्दा, अर्याल दम्पती भन्छन् ‘मनको दुःख चिन्ता बिलयन हुन्छ।’

भिडियो 

व्यवसायबाट धन कमाउन नसके पनि अर्याल दम्पति सन्तुष्ट छन् । ‘जहाँ गएपनि नवराज होटलका बा भन्छन्, सबैले माया गर्छन्, दाम कमाउन नसकेपनि नाम कमाएको छु, यसमै खुशि छु,’ उनले भने ।

अर्याल दम्पतिको उमेरले डाँडो चढ्दैछ, शरीरलाई बुढ्यौलीले छुदैछ । उनीहरु अहिले पहिले जस्तो होटलमा खट्न सक्दैनन् । करिब ४ दशक अर्याल दम्पतीले समाउने डाढु पन्यू र दाविलोमा हात फेरिएको छ । त्यहाँ अर्याल दम्पतीका कान्छा छोरा मधुसुजन अर्याल र बुहारी दीपा बुढाथोकीले हात लगाएका छन् । छोराबुहारीले व्यवसायलाई समहालेकोमा अर्याल दम्पति खुशि छन् ।

होटल व्यवसाय समहाल्नकै लागि मुधले चार बर्षे बैदेशिक रोजगार त्यागे, श्रीमान नेपालमै बसेर व्यवसाय गर्ने भएपछि दिपाले पनि ९ बषदेखि गर्दै आएको अध्यापन पेशा छोडिन् । मधु र दीपा आफ्नो अविभावकले गर्दै आएको व्यवसायमा रमेका छन् । पढाउने पेशा छोड्नु परेको प्रति दीपालाई कुनै गुनासो छैन । दीपा भन्छिन्,‘हामीले गरेको काममा श्रीमानश्रीमती दुबै जना खुशि छौँ ।’

अर्याल दम्पतिका जेठा छोरा रत्न प्रसाद अर्यालसंग नातानातिना पनि होटलको कामामा सहयोग गर्छन् । परिवारभित्रकै सदस्यहरुले व्यवसाय चलाएकोले होला यहाँ ढिडो खाने हेटौंडा निवासी अष्ट लामा भन्छन्, ‘घरकै याद आउँछ, होटलमा खाको जस्तो आभास हुँदैन ।’

यहाँ परम्परागत शैलीमा आँखा अगाडीनै खाना बनाइन्छ, त्यही कारण आफु नियमित जस्तो ढिडो खानका आउने गरेको हेटौंडा निवासी होम बहादुर नेपाली बताउँछन् । उता विगत १५ बर्षदेखि नवराज होटलको खाना खाँदै आएका भक्तपुर लोकन्थलीका अनिल हेक्का भन्छन्,‘पियोर लोकल माछा, कुखुरा पाउने, घरको मरमसला हालेर आगोमा बनाउँछ, त्यसैले यहाँको टेस्टनै भिन्दैछ, त्यही भएर यही मात्र आउन मन लाग्छ ।’

मधुसुजनका अनुसार होटलमा दैनिक १०० देखि १५० जनासम्म मानिसहरु आउने गरेका छन् । दैनिक ५० हजारको हाराहारीमा कारोवार हुने उनी बताउँछन् । नवराज होटलको ब्राण्ड भनेकै ढिडोसंग लोकल कुखुरा र माछा हो ।

अर्याल परिवारका अनुसार अहिले गाउँघरमा लोकल कुखुरा र खोलामा माछा पाउँन मुस्किल छ । गाउँमै उत्पादन भएका मकै, कोदो, फापर, माछा, कुखुरा, तरकारीको भाउ अत्याधिक मंहगो भएकाले सोचे अनुरुप लाभ लिन नसकिएको उनीहरुको भनाई छ ।