प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सातवर्षभित्र खानेपानीको समस्या पूर्ण रुपमा समाधान हुने

२०८० असार १९, मंगलबार १४:१९ बजे

हेटौंडामा खानेपानीको इतिहास कुवा हो । विंसं २०११ भन्दा अगाडि स्वर्गलोकको कुवाकै पानी पिउथे हेटौंडाबासी । त्यो भन्दापछि त्रिभुवन राजपथको तीरतिरे धाराको पाईप विछ्याएर ल्याएको पानी उपभोग गरेको पाइन्छ ।

जनघनत्व बढ्दै गएपछि सीमित कुवा र धाराले प्यासी हेटौंडेलीको तीर्खा मेटाएन । विंसं. २०२४ सालमा हेटौंडा खानेपानी विभागको स्थापना भयो । विभागले तत्कालीन भैंसे गाउँपञ्चयतलको बुङ्दलबाट हेटौंडा–२ हरिकुञ्जको ५ लाख ४६ हजार लिटरको ट्याकीका खानेपानी जम्मा गरेर वितरण सुरु ग¥यो । विंसं.२०४२ सालसम्म आइपुग्दा विभागले १३ सय धारा जडान गर्यो ।

हेटौंडा खानेपानी विभागको काम खानेपानी तथा ढल निकास संस्थानबाट हुने भयो । विंसं.२०४३ सालमा मकवानपुरको सदरमुकाम भीमफेदीबाट हेटौंडा सारियो । बसोबाससँगै मानवीय आवश्यकता पनि बढे । खानेपानी सेवालाई चुस्तदुरुस्त बनाउन हेटौंडा–२ हरिकुन्जमा ५ लाख लिटर क्षमताको टंकी निर्माणसँगै कार्यालय भवन, र हेटौंडा–४ कर्रामा २ वटा वेल निर्माण गरिएको थियो ।

विंसं.२०४६ मा बहुदलीय व्यवस्था आयो । हेटौंडा नगरपञ्चायत (हेटौंडा नगरपालिका र खानेपानी विभाग) नेपाल खानेपानी संस्थानमा परिर्वतन गरियो । शहरीकरणको कारण सुविधाको अशमा हेटौंडामा बसाईसराई गरी आउने ह्वात्तै बढ्यो ।

खानेपानीको माग अत्याधिक वृद्धि भयो । स्थानीयले सञ्चालन गरेको हेटौडा–८ कमाने र हेटौडा–९ लामसुरे खानेपानी योजनालाई व्यवस्थित वितरण गरियो । खानेपानी संस्थान मात्रै होइन, खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुले पनि पानी वितरण गर्थे ।

विंसं २०६१ साल भन्दा अगाडिदेखि नै हेटौंडा–१ श्री श्रृजना, भैरवडाँडा, हेटौंडा–५ को मनकामना र हेटौंडा–११ को जिम्बाडाँडालगायत उपभोक्ता समितिले खानेपानी वितरण गथ्र्यो । तर, उपभोक्ताको माग धानेन । पानीको अभाव देखिन थाल्यो । अभाव पूर्ति गर्न तत्कालीन हेटौंडा नगरपालिकाले एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा १९ करोड १४ लाख ७४ हजार बराबर खानेपानी पूर्वाधार निर्माण गरेर सेवा विस्तार गरेको थियो ।

खानेपानी ब्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ अनुसार विंसं. २०६४ मा हेटौंडा खानेपानी ब्यावस्थापन बोर्ड गठन भयो । नेपाल सरकारको निर्णय बमोजिम विंसं. २०७० जेष्ठ ८ मा नेपाल खानेपानी संस्थान हेटौंडा शाखा बिधिवत हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भयो । त्यति बेला बोर्ड र उपभोक्ता समितिले हेटौंडाबासीको पानीको माग धानेको थियो ।

हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित रहेको हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डको कार्यालय । 

विंसं २०७४ पछि हेटौंडा हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बसामाडीलाई समट्दै हेटौंडा उपमहानगरपालिका बन्यो । वडा संङ्ख्या ११ बाट १९ पुग्यो । उपमहानगरले पछि समेटिएका ग्रामीण वडामा प्राथामिकता दिएर काम गरेको पाइन्छ । उपमहागरको समिक्षा प्रतिवेदन अनुसार आ.व.२०७४ देखि ०७७ सम्ममा १३ वटा खानेपानी योजना सम्पन्न गरी करिब १६ दशमलव ९ किलोमिटर खानेपानी पाईप विस्तार भएको छ भने १ हजार बढी घरधुरी खानेपानी पु¥याइएको छ ।

उपमहानगरले आव २०७७/०७८ मा खानेपानी तथा सरसफाईमा १५ करोड ३४ लाख, आव २०७८÷०७९ मा ११ करोड ७८ लाख र २०७९÷८० मा ११ करोड ८८ बजेट विनियोजन गरेर पूर्वाधार निर्माणमा जोड दिएको छ । चालु आर्थिक बर्षमा मात्रै ८ वटा खानेपानी पूर्वाधार सम्पन भएको समिक्षा प्रतिवेदनमा उल्लेख छ ।

न्यूनतम् शुल्क छुट
हेटौंडा उपमहानगरपालिका–१८ का केदार श्रेष्ठ पहिले मासिक पाँच सयसम्म खानेपानीको शुल्क बुझाउथे । हेटौंडा खानेपानी बोर्डमार्फत पानी उपभोग गर्दा न्यूनतम् छुट पाउने भएपछि पानीको महसुल पनि बुझाउन नपरेको बताउँछन् । “पहिले खानेपानीको सुविधा थिएन, शुल्क पनि ज्याद तिर्नुपथ्यो, अहिले खानेपानीको सुविधा पनि राम्रो छ, शुल्क पनि थोरै लाग्ने, कहिले काही पैसै तीर्नुपर्दैन” श्रेष्ठले भने । श्रेष्ठले जस्तै खानेपानी सुविधाको महशुस बोर्डका १९ वटै वडाका उपभोक्ताले गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, उपमेयर राजेश बाँनिया र हेटौंडा खानेपानी ब्यवस्थापन बोर्ड अध्यक्ष प्रताप विष्ट १० हजार लिटर खानेपानी छुटको सम्झौता गर्दै । 

विसं.२०७९ सालमा हेटौंडा उपमहानगरपालिका मेयरमा मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँ निर्वाचित भएपछि खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका २३ हजार ५०० घरधुरीलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क गरिएको छ । नगरवासीले प्रति १० हजार लिटर बराबर ८५, सामुदायिक विद्यालयलाई अनमिटर प्रतिधारा ७ सय, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र शहरी स्वास्थ्य केन्द्रलाई प्रतिधारा ७ सय रुपैयाँ उपमहानगरले बोर्डलाई चालुआवबाट भुक्तानी तिर्दै आएको छ ।

खानेपानीको अवस्था
हेटौंडा नगरभित्र हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिहरुले खानेपानी वितरण गर्दै आएको छ । बोर्डमार्फत हेटौंडा उपमहानगरको वडा नं. २,४,५,६,७, ८,९,१० गरी ८ वटा वडाको सबै भु–भाग र वडा नं. १, १४, १५, १६, १७, १८ र १९ का केही भु–भागमा बसोबास गर्ने करिब ढेड लाख नगरबासीलाई दैनिक १ करोड ८८ लाख लिटर पानी उत्पादन गरी करिब साँढे २३ हजार धाराबाट सरदर दैनिक ६ देखि ७ घण्टा खानेपानी वितरण गर्दै आइरहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

हाल बोर्डको भण्डारण क्षमता ५९ हजार घनमिटर अर्थात ५९ लाख लिटर क्षमता रहेको अध्यक्ष विष्टले बताए । उनका अनुसार बोर्डले २७ वटा डिप ट्यूववेल र ७ वटा सम्मवेलबाट पानी संकलन गर्दै आएको छ भने १४ हजार देखि ४ लाख ४६ हजार लिटरसम्मको २१ वटा खानेपानी ट्याङकी निर्माण गरी ४२३ किलोमिटर पाईप विछ्याईसकेको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघमा दर्ता भएका मात्रै सानाठुला ३६ भन्दा बढी खानेपानी उपभोक्ता समिति रहेका छन् । सो उपभोक्ता समितिले हेटौंडा बजारक्षेत्रदेखि अधिकांश ग्रामीण भेगका उपभोक्ताको खानेपानीको माग धान्दै आएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका उपाध्यक्ष तेजराज पाण्डेले बताए ।

उनका अनुसार उपभोक्ता समितिहरुबाट विस्तार भएको खानेपानी उपभोग गर्ने १० हजार उपभोक्ता रहेका छन् । पदमपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मात्रै करिब २ हजार ४६० घरधुरीलाई खानेपानी वितरण गर्दै आएको अध्यक्ष टोलप्रसाल दंगाल बताउँछन् ।

एकद्वार प्रणाली लागू
खानेपानी प्रदायकहरुमध्ये हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले वितरण गरेको पानी निकै सस्तो मानिएको छ । न्यूनत्म दश यूनिटको ८५ रुपैयाँ र त्यो भन्दाबढी एक हजार लिटर बराबर २५ रुपैयाँ छ । हेटौंडा उपमहानगरको श्रावण १५ गतेको निर्णय श्रावणकै २४ गते बोर्डसँग सम्झौता भएपछि बोर्डमा आबद्ध उपभोक्ताहरुले खानेपानीमा न्यूनमत् छुट पाए ।

नगरभित्रका ३५ हजार घरधुरीमध्ये उपभोक्ता समिति तथा निजी लगानीको पानी उपभोग गर्ने करिब १२ हजार घरधुरीहरु खानेपानी न्यूनतम् महसुल छुट सुविधाबाट बञ्चित छन् । त्यही कुरालाई मध्यनजर गर्दै उपमहानगरले सबै खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आबद्ध गराउने योजना बनाएको बोर्डका अध्यक्ष बिष्ट बताउँछन् ।

हेटौंडा उपमहनगरपालिका–१९ बस्तीपुरको बस्तीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित खानेपानी आयोजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण कार्यक्रम । 

न्यूनतम् छुट र गुणस्तरीय खानेपानी सुलबदरमा उपलब्ध गराउन खानेपानी वितरणमा एकद्वार प्रणाली लागू गर्न लागेको हो । हेटौंडाको न्युरेनी, हर्नामाडी डिप बोरिङ, कल्याणटार खड्कुले र बनेलधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण गरिसकेको छ ।त्यस्तै हेटौंडाकै मिलन टोल, पदमपोखरी ठुुलोथली र भोर्लेे, जाते पनेस क्षेत्रको खानेपानी उपभोक्ता समितिहरु बोर्डमा हस्तान्तरण गर्ने तयारीमा छ ।

पानी परीक्षण ल्याब सञ्चालन
हेटौंडा उपमहानगरभित्र स्वच्छ खानेपानी वितरण गर्न हेडौंडा खानेपानी व्यवस्थापन बोर्डले विसं.२०७६ सालबाट खानेपानी परीक्षण ल्याव सञ्चालनमा ल्याएको छ । नगरभित्र पिउनेपानीमा गुणस्तर कायम गर्न न्यूनतम् शुल्क लिएर उपभोक्ता समिति तथा निजी क्षेत्रको न्यूनतम् शुल्क लिएर परीक्षण समेत गर्दै आएको छ ।

पानीको अवस्था हेरेर १४ प्रकारको परीक्षण गर्दै आएको खानेपानी परीक्षण शाखाका प्रमुख माधव चौलागाईंले बताए । पानीको माईक्रोबायोलोजी अन्तर्गत टोटल कोलिफर्म र इकोली, केमिकल अन्तर्गत आइरन, म्याग्नेस, नाईट्रेड, आर्सनिक, टोटल हाड्नेस् र फिजिकल अन्तर्गत ६ प्रकारको पारामिटर अथार्त पारामिति परीक्षण हुने उनले बताए ।

सन् २०३० सम्ममा अभाव हट्ने
हेटौंडा उपमहानगरपालिका–११ सुकुम्बासी टोलकी मीरा विश्वकर्माले खानेपानीको न्यूनतम् छुट परको कुरा, सरकारी स्तरको धारा समेत नभएको बताउँछिन् । उनको परिवारले आफ्नै लगानीमा बनाएको इनारको पानी उपभोग गर्छन् । मीरा प्रतिनिधि पात्र हुन्, सुगमै भएर पनि सयौँ घरमा सरकारीस्तरको पानीको धारा पुगेको छैन ।

हेटौंडा उमहानगरपालिका वडा नं.११ सुकुम्बासी टोलकी मिरा विश्वर्कमा इनारको पानी चापकलबाट तान्दै । 

बारा जिल्ला हुँदै हेटौंडा उपमहानरपालिका–१५ स्थित चिप्लेटी, बाँसघारी जस्ता स्थानमा पानीको पूर्वाधारको नामोनिसान छैन । चिप्लेटीसँगै आकाशधारा, साझबोटे, सुकौरा, लेखपानी, कुवापानी घ्याक्सिङटार क्षेत्रमा पानी विस्तार निकै चुनौतिपूर्ण रहेको बोर्ड अध्यक्ष बिष्ट बताउँछन् ।

हेटौंडा उपमहानगरभित्र खानेपानी वितरणको जिम्मा लिएको बोर्डले आगामी आर्थिक बर्षमा करिब ४५ सय घरधुरीमा खानेपानी पु¥याउने योजना बनाएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी संजयकुमार न्यौपानले बताए । उनका अनुसार संघिय सरकार, हेटौडा उपमहानगर र बोर्डको संयुक्त लगानीमा वडा नं १६ को पुरै क्षेत्र र ११ नं को थानाभ¥याङ, सिमलटारमा खानेपानी आयोजनाको काम भइरहेको छ ।

त्यस्तै हेटौंडा–६ र १७ गैरीगाउँ, चुच्चेखोला, चौघडाको क्षेत्रको लागि टंकी निर्माण, मेन तथा शाखा पाईपलाईन बिस्तार कार्य, वडा नं ९ र नगरको मुख्य बजार क्षेत्रमा खानेपानीको स्रोत बृद्धिको लागि कुख्रेनी खोलामा डिप बोरिङ निर्माण गरी बेदखोल्ची डाँडामा टंकी निर्माण कार्य अगाडि बढाइएको उनले बताए । स्रोत जुटेको अवस्थामा सन् २०३० सम्ममा सबै नगरबासीलाई पर्याप्त मात्रामा खानेपानी उपलब्ध गराउन सकिने उनको भनाई छ ।

उपमहानगरको आगामी योजना
सरकारले खानेपानी तथा सरसफाई ऐन–२०७९ मा स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउन दफा ८ को उपदफा १ को (ग) मा स्थानीय तहको अधिकार र दायित्व तोकेको छ ।

सोही अनुसार हेटौंडा उपमहानगरपले आगामी आर्थिक बर्षमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा समुदायस्तरमा खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र गुणस्तर मापन तथा शुद्धिकरण विधिलाई प्रभावकारी बनाउनका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बजेट पारितपछि मेयर मिना कुमारी लामा, उपमेयर राजेश बाँनिया लगायत जनप्रतिनिधि र कर्मचारीहरुको सामुहिक तस्वीर । 

स्थानीय उपभोक्ता समितिबाट सञ्चालित योजनालाई क्रमशः वोर्डमा आवद्ध गर्ने कार्यलाई निरन्तरता दिने र वोर्डमार्फत उपलब्ध गराइएको निःशुल्क खानेपानी सुविधाको प्रभावकारिता अध्ययन गरी आवश्यक पुनरावलोकन गर्न १ करोड बजेट विनयोजना गरेको छ ।

संघीय सरकार, हेटौंडा उपमहानगर र खानेपानी व्यवस्थापन वोर्डको संयुक्त लगानी(सहकार्य) मा सञ्चालन हुने नगरक्षेत्रको खानेपानी पूर्वाधार निर्माणमा लागत साझेदारी उपलब्ध गराउने नीतिलाई निरन्तरता दिने नीति लिएको नगरप्रमुख लामा बताउँछिन् ।

पछिल्लो १० बर्षमा खानेपानी क्षेत्रमा उल्लेख्य सुधार भएको पाइन्छ । बढ्दो प्राकृतिक स्रोतको दोहन र अव्यवस्थित विकासले खानेपानीको स्रोतहरु घट्दै गएका छन् भने भएका खानेपानी स्रोतमा समेत पानी उत्पादन घट्दै गाएको अवस्था छ । केही दिनको अघिको खडेरीकै कारण हेटौंडामा खानेपानीको हाहाकार नै मच्चियो

पानी स्रोत संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । ४०/५० बर्ष पुराना भौतिक संरचनाहरु जीर्ण अवस्थामा पुगेका छन् । त्यसको व्यवस्थापन गर्न आवश्यक बजेट र रणनीति तयारीमा ध्यान दिनुपर्ने देखिन्छ ।

खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण गर्ने कुरामा द्वन्द्व देखिन्छ । लामो अस्तित्व बोकेको उपभोक्ता समितिलाई आवश्यक कार्यबिधि बनाएर सम्बोधन गरे खानेपानी सेवा विस्तारमा हेटौंडा उपमहानगरपालिका सफल हुनेमा दुईमत छैन ।

नोट: हेटौंडा उपमहानगरपालिकाको लगानी र पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको फिचर लेखन प्रतियोगितामा उत्कृष्ट १२ भित्र पर्न विफल सामाग्री ।