प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने

२०८१ मंसिर ६, बिहीबार १८:१३ बजे

काठमाडौं – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका भाडादरमा विशेष छुट दिने घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार भाडादरमा छुट लागू गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन्।

निगमले जारी गरेको विज्ञप्तिका अनुसार, दिल्ली, मुम्बई, र बैङ्गलोर गन्तव्यका भाडामा दुई हजार पाँच सय रुपैयाँसम्म तथा दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक, र नारिताका लागि पाँच हजार रुपैयाँसम्म छुट दिने निर्णय गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत तथा विस्तार कार्यका कारण दैनिक १० घण्टा बन्द हुने भएकोले विभिन्न वायु सेवाका उडान कटौती भएका छन्। यस अवस्थामा केही हवाई कम्पनीहरूले भाडादर अत्यधिक बढाएको गुनासो उठेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई भाडादर सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम समेत दिएका थिए।

यही सन्दर्भमा नेपाल एअरलाइन्सको यो कदम यात्रुहरूलाई राहत पुर्‍याउने उद्देश्यले गरिएको निगमले जनाएको छ। यात्रुहरूले तोकिएका गन्तव्यमा छुटको सुविधा लिनका लागि निगमसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

सरकारले हवाई भाडादर व्यवस्थापन र यात्रु सुविधाको सुनिश्चितताका लागि थप कदम चाल्ने बताएको छ।