हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले आतंक मच्चाउन छाडेको छैन । जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार पालिकाले हात्ती धपाउन सुरक्षाकर्मी परिचालन गर्ने, बढी क्षमता भएका बत्ती जडान गर्ने लगायत उपाय अपनाएपनि पुनः हात्तीले आतंक जारी राखेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान २ बजेर १५ मिनेटमा मनहरी गाउँपालिका वडा नं.६ नयाँबस्तीमा स्थानीय घरको गारो भत्काएको छ । त्यस्तै नारायण श्रेष्ठको सटरमा क्षति पुर्याएको छ भने मंगल सिंह थिङको भान्सा घरमा पसेर १ बोरा धान र चामल खाएको प्रहरीले जनाएको छ ।
मानविय क्षति भने भएको छैन । यसअघि मनहरी गाउँपालिका–८ को चिसापानीमा र वडा नं.७ को रमौलीमा एक घर/एक गोठमा क्षति पुर्याएको थियो । त्यसको दुई दिनपछि चिसापानीमै स्थानीयको एक तले घर पुर्ण र गोठमा आंशिक क्षति पुर्याएको थियो ।
रातको समयमा आउने एक्लो हात्तीको कारण गाउँमा त्रास बढेको छ । किसानले खेतबारीमा लगायतको अन्नबाली समेत क्षति गरेको छ । हात्ती नियनत्रण गर्न निकुञ्जले चासो नदेखाएको मनहरीबासीको गुनासो छ ।