प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नगद चोरीमा संलग्न तीन जना मकवानपुर प्रहरीद्वारा सार्वजनिक

२०८१ कार्तिक १३, मंगलबार १९:०३ बजे

मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ६ मा गएराति बसमा यात्रा गरिरहेका ४९ वर्षीय भरत गौतमको पाकेटबाट नगद ५१ हजार चोरी भएको घटनामा संलग्न ३ जना व्यक्तिलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

भरत गौतम हेटौंडाबाट ना. ५ ख ८१०१ नम्बरको बसमा लोथरतर्फ गइरहेका बेला उक्त चोरीको घटना भएको थियो। घटनाको सूचना प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजी सुरु गरेको थियो।

प्रहरीको खोजतलासका क्रममा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका वडा नं. ६ का ३२ वर्षीय लाक्पा तामाङ, उदयपुर त्रियुगा नगरपालिका वडा नं. १० का ४२ वर्षीय प्रेम दोर्जे शेर्पा, र धनकुटा छथर गाउँपालिका वडा नं. ३ का ३७ वर्षीय हेमराज श्रेष्ठलाई लोथरको सडकमा फेला पारियो। रीतपूर्वक खानतलासी गर्दा उनीहरूको साथमा चोरी भएको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

हाल लाक्पा तामाङ, प्रेम दोर्जे शेर्पा र हेमराज श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको छ।