मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरका ४९ वर्षीय भरत गौतमको नगद रू ५१,००० (एकाउन्न हजार) बस यात्राको क्रममा चोरी भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना। ५ख ८१०१ नम्बरको बसमा सवार गौतमले आफ्नो पाइन्टको गोजीबाट नगद चोरी भएको थियो। गौतमले चोरीमा सँगै सवार व्यक्तिहरू संलग्न हुनसक्ने आशंका गर्दै अनुसन्धान थालेपछि तीनजना व्यक्तिहरू पक्राउ परेका छन्।
चोरीको आशंकामा प्रहरीले खोजतलास गर्दै जाँदा लोथर बजारमा शंकास्पद व्यक्तिहरूलाई घुमिरहेको अवस्थामा फेला पारेको थियो। प्रहरी चौकी सुनाचुरीलाई खबर गरेपछि प्रहरी टोलीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरीको घटना स्वीकार गरेका छन्।
पक्राउ पर्नेमा उदयपुर जिल्ला, त्रियुगा नगरपालिका–१० का ४२ वर्षीय प्रेम दोर्जे शेर्पा , सिन्धुपाल्चोक जिल्ला, लिसंखुपाखर गाउँपालिका–६ का ३२ वर्षीय लाक्पा तामाङ र धनकुटा जिल्ला, छथर गाउँपालिका–३ का ३७ वर्षीय हेमराज श्रेष्ठ रहेका छन् ।
शेर्पाको साथबाट एक लाख उनान्सत्तरी हजार सात सय दश, तामाङको साथबाट उनान्चालिस हजार र श्रेष्ठको साथबाट पाँच हजार सात सय सत्तरी नगद बरामद बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको छ भने थप अनुसन्धान कार्य जारी रहेको बताईएको छ।