प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुर गोल्डकपको सेमिफाइनल खेल आजबाट, घरेलु टोली र पुलिस भिड्दै

२०७९ जेठ २७, शुक्रबार ०२:०० बजे

हेटौंडा – आजबाट चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल हुँदैछ ।

पहिलो खेल घरेलु टोली विजय युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबिच हुनेछ । खेल हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज दिउँसो साढे ३ बजे हुनेछ ।

यसअघि विजय युथले नव जनजागृती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । उता नेपाल पुलिस क्लबले बलियो टोली मनाङ मस्र्याङदी क्लबमाथि १–० को संर्घषपुर्ण जित निकालेको थियो ।

दुवै टीम पहिलो पटक च्याम्पियन बन्ने रणनीतिका साथ मैदान उत्रनेछन्। घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ घरेलु टोली मैदानमा प्रवेश गर्नेछ ।

त्यस्तै सेमिफाइनलको दोस्रो खेल भोली हुनेछ । दोस्रो खेलमा साविक विजेता टोली त्रिभुवन आर्मी क्लब र क्यामरुनी टोली एभिनियर एफसीबिच हुनेछ । यी दुवै टीमले बलिया क्लबहरु एपिएफ फुटबल क्लब र बि डिभिजन लिग विजेता चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्।

आर्मीले एपिएफविरुद्ध ट्राईब्रेकरमा संर्घषपुर्ण जित निकाल्र्दा एभिनियर एफसीले चच ब्वाईजविरुद्ध ४–० को शानदार जित निकालेको थियो । उपाधि होडमा रहेका चार टीममध्ये आर्मी मात्रै मकवानपुर गोल्डकपको उपाधि विजेता टीम हो।

आर्मीले तेस्रो संस्करणको उपाधी जितेको थियो भने घरेलु टोली मकवानपुर–११ उपविजेता बनेको थियो । मकवानपुर–११ लाई आर्मीले १–० गोलले पराजित गरेको थियो । 

पहिलो संस्करणको उपाधी २०६४ सालमा थ्रिस्टार क्लबले जितेको थियो । दोस्रो संस्करण मकवानपुर–११ ले क्यामरुनी टोली दाउफिन्सलाई २–१ ले पराजित गर्दै जितेको थियो । 

खेलकुदको माध्यमबाट सहिदहरुप्रति सम्झना र सम्मान गर्ने उदेश्य सहित आयोजना गरिएको प्रतियोगिताको विजेता १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् । 

विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ ।प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।