प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

विद्यालयका पूर्बप्रधानाध्यापक पराजुलीद्वारा विद्यार्थीलाई छात्रबृत्ति

२०७९ आश्विन ७, शुक्रबार १४:४८ बजे

हेटौंडा– मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका पूर्बप्रधानाध्यापक तीर्थराज पराजुलीले सो विद्यालयबाट २०७८ को माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ठ नतिजा प्राप्त गर्ने छात्र र छात्रालाई ११ हजार पाँच सय रुपैयाँ राशीको छात्रबृत्ति प्रदान गरेका छन् ।

पराजुलीले आफ्नो मातापिता शिबकुमारी–रामजीप्रसाद पराजुली स्मृतिमा छात्रबृत्ति कोष स्थापना गरी शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । २०३१ सालदेखि २०४० सालसम्म अध्यापन गरेको विद्यालयका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले छात्रबृत्ति प्रदान गरिएको पराजुलीले जानकारी दिए । हरेक बर्ष माध्यमिक शिक्षा परीक्षामा विद्यालयबाट उत्कृष्ठ नतिजा ल्याउने एक छात्र र एक छात्रालाई ११ हजार पाँच सय रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिने छ ।

पशुपतिनाथ माविबाट २०७८ को एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने छात्र रोजीत न्यौपाने र छात्रा सीता बर्तौलालाई मनहरी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष प्रकाश थापा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, भीम बिराग कला, संगीत, साहित्य प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य र पराजुलीले संयुक्त रुपमा छात्रबृत्ति प्रदान गरेका हुन् ।

ग्रामीण क्षेत्रका बालबालिकालाई उच्चशिक्षा आर्जनमा प्रोत्साहन गर्नका लागि मातापिताको स्मृतिमा छात्रबृत्ति कोष स्थापना गरिएको जानकारी दिंदै पराजुलीले आगामी दिनमा विद्यालयमा गुणस्तरीय शिक्षाका लागि थप सहयोग गर्ने बताए । २०२७ सालमा स्थानीय पशुपति खड्काको नेतृत्वमा पशुपति पब्लिक प्राइमरी स्कूल स्थापना भएको विद्यालयलाई तत्कालीन सरकारले २०३२ मंसिर १५ गते सरकारी स्वामित्वको स्वीकृति दिएको थियो ।

बिजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान गर्न विद्यालयले आयोजना गरेको अभिभावक भेलामा बालबालिकाहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।