हेटौंडा – मकवानपुरको एक वडाध्यक्षमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ ।
जिल्लाको कैलाश गाउँपालिका वडा नं.९ का वडाध्यक्ष भुवन सिंह घलानविरुद्ध एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् ।
कैलाश गाउँपालिका–९, नामटारको कालिका माविकी छात्राले आफ्नो संवेदनशील अंगमा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएकी छन् ।
जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन आउँदा राती होटलमा बसेको बेला वडाध्यक्ष आफ्नो कोठामा आएर गलत कार्य गरेको छात्राले बताएकी छन् ।
घटना असार १८ र १९ गतेको भएपनि छात्राले असार २४ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएर किटानी जाहेरी दिएकी हुन् ।
जाहेरी पर्यो प्रहरी डरायो
विभिन्न सञ्चार माध्यमा वडाअध्यक्ष घलानविरुद्ध किटानी जाहेरी परेको समाचार बाहिरिएको छ । उता विभिन्न विद्यार्थी संगठनले वडाअध्यक्ष घलानको नामनै किटान गरेर विज्ञप्ती सार्वजनिक गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की बाल यौन दुर्व्यवहारमा किटानी जाहेरी परेको बताउँछन् । तर उनले कसलाई पर्यो ? को विरुद्ध पर्यो ? जानकारी दिन चाहेनन् ।
‘बलात्कार आरोपमा जाहेरी आएको थियो,दर्ता पनि भइसक्यो, हामी अनुसन्धान गर्दैछौँ,’ उनले भने,‘अन्य कुरा तीर नजाउँ । यत्ति नै गरौँ हैँ ।’ त्यसपछि प्रवक्ता कार्की बाल्न चाहेनन् ।
आरोपित घलान गत बैशाख ३० गते स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
सांकेतिक तस्बिर