प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता साधारणसभा, कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२०८० पौष ७, शनिबार २०:४२ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा ७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले समुहको प्रगति प्रतिवेदन, सचिव शान्ति तिमल्सिनाले समुहको कार्यप्रगतिको प्रतिवेदन र कोषाध्यक्ष तेजप्रसाद मैनालीले समुहको आय व्यय सहितको १४ लाख ६६ हजार ७ सय २१ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समुहले वन संरक्षणको लागि सञ्चारमाध्यमबाट सहयोग पुर्याउदै आएको भन्दै पत्रकार पुष्पराज अधिकारीलाई नगदसहित दोसल्ला, सम्मानपत्रबाट सम्मान गरेको छ यस्तै सव-डिभिजन वन रातोमाटेका फरेस्टर यदु प्रसाद घिमिरे, जेष्ठनागरिक तर्फ उपभोक्ता रेमलाल गौतम र डेवकुमारी पोखरेल, कृषि तथा पशुपालनतर्फ सुमित्रा उपाध्यायलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतमले समुहले वन संरक्षण र उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने कार्यमा उल्लेखनीय
कार्य गरेको भन्दै समुहलाई आवश्यक अन्य भौतिक तथा आर्थिक सहायता वडा कार्यालयले गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका अधिकृत वसन्त राज गौतमले वन संरक्षण र विधमान नीति नियमको बारेमा प्रष्ट पारे। यस्तै सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष साधुराम चौलागाईंले समुहको सिमानामा अग्निरेखा निर्माणकालागि महासङ्घले आर्थिक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

यसैगरी अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले अस्मिताले समुहका उपभोक्तालाई दुना टपरी बनाउने तालिम प्रदान गरि समुहलाई दुना टपरी बनाउने मेसिन उपलब्ध गराएको भन्दै आगामी बर्ष समुहले उक्त मेसिन संचालनमा ल्याउदै आफ्ना उपभोक्तालाई उधमी बनाउनेतर्फ लाग्न समुहलाई आग्रह गरे ।

कार्यक्रममा पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरे, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

समुहले विपन्न वर्ग उत्थान कार्यक्रमको लागि २ लाखको घुम्ती कोष बनाई हरेक बर्ष आफ्ना विपन्न उपभोक्ताहरुलाई २० हजारको आर्थिक सहायता गरि उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउदै आएको छ ।

वन संरक्षण र सम्बर्द्धनमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै समुहले ४ पटक जिल्ला स्तरीय वन संरक्षण पुरस्कार र सर्वमान्य गणेशमान सिंह वन संरक्षण पुरस्कार २०७३ तृतीय बाट समेत सम्मानित भएको थियो ।

२ सय ८७ घरधुरी र ७१.१२ हेक्टर क्षेत्रफल रहेको वनको पुर्वमा हेटौंडा ६ को रानी वन र पश्चिममा हेटौंडा ५ को पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूह रहेको छ ।

यसैगरी आजै भएको समुहको अधिवेशन भेलाले प्रकाश कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।