प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

थाहा फिल्म फेस्टिभल सुरु

२०८० मंसिर १०, आईतबार ०८:३२ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोगमा आयोजना गरिएको फिल्म फेस्टिभलको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरे ।

थाहानगरलाई मिनि फिल्म सिटि बनाउने उद्देश्य सहित इन्दायणी चौर क्षेत्रमा रहेको जेसिज हलमा ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चित्रकारले फेस्टिभलले थाहाको पर्यटन प्रर्वद्धनको साथै मिनि फिल्म सिटी निर्माणको उदेश्य पुरा हुने बताए ।

उनले सरकारले फिल्म उद्योगलाई ब्यवस्थित बनाउँदै फिल्म सिटिको अवधारणा अनुसार काम गर्नुपर्नेमा जोड दिए । भारतको फिल्म सिटी भन्नेवित्तिकै मुम्बई भने जस्तै प्राकृतिक तथा सास्कृतिक रुपमा धनी थाहानगरलाई फिल्म सिटी बनाउनका लागि उपयुक्त स्थल रहेको धारणा ब्यक्त गरे ।

फेस्टिभलमा थाहा नगरपालिकामा जन्मेर नेपाली कलाकारिता क्षेत्रमा योगदान दिएका दर्जन बढि श्रष्ठाहरुलाई सम्मान गरिएको थियो भने करिब आधा घण्टाको थाहाको पर्यटन र सास्कृतिक पक्ष समेटिएको बृत्तचित्र प्रस्तुत गरिएको थियो । फेस्टिभल आगामी शुक्रवारसम्म सञ्चालन हुनेछ ।

फेस्टिभलमा छ वटा चलचित्र, १६ वटा लघु चलचित्र र छ वटा वृत्तचित्र प्रदर्शनी गरिने भएको छ । डेसान, बुलबुल, ऐन झ्यालको पुतली, राधा, प्रकाश र आमा खाण्डोको प्रदर्शनी गरिने थाहा फिल्म फेस्टिभलका आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

फिल्म फेस्टिभलका अवसरमा पहिलो दिन शनिवार थाहा नगरको पर्यटन प्रवर्धन लागि बनाइएका वृत्तचित्र प्रदर्शनी गरिने भएको छ । यस्तै सो अवधिमा चलचित्र निर्माता, निर्देशक, कलाकारलगायतको सहभागितामा थाहा नगरभित्रका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइनेछ ।