हेटौंडा — मकवानपुरको मनहरी घर भई बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा बसोबास गर्दै आएका चन्द्रबहादुर भुलन (थिङ) को बाघको आक्रमणबाट मृत्यु भएको छ ।
५५ वर्षीय भुलन पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित चकरी जङ्गलमा बाख्रा चराउन गएका थिए। प्रहरीका अनुसार उनी मङ्गलवार दिउँसो जंगल गएका थिए तर घर नफर्किएपछि आफन्तहरूले प्रहरीलाई जानकारी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले दिएको जानकारीअनुसार खोजतलासका क्रममा बुधबार बिहान दक्षिणकाली सामुदायिक वनको खोल्सामा भुलनको मृत शरीर बाघले खाएको अवस्थामा फेला परेको हो ।
भुलन बाख्रा चराउने कामदारको रूपमा कार्यरत थिए । हाल घटनाको विषयमा प्रहरी तथा निकुञ्ज प्रशासनले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।