काठमाडौं – जाजरकोट जीप दुघर्टनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएपछि १२ जना पुगेको हो ।
जाजरकोट छेडागाड–५ का जैवान अधिकारीको मंगलबार बिहान प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा नौ जना र उपचारका लागि सुर्खेत लैजाने क्रममा दुई जना र उपचारको क्रममा अस्पतालमा एक जनाको मृत्यु भएको हो। जीपमा १२ जना सवार थिए।
मृत्यु हुनेमा छेडागाड नगरपालिका–६ थाना जाजरकोटका ४२ वर्षीय वीरबहादुर खत्री, छेडागाड ५ लेवाकी २५ वर्षीय जैकुवँरा बुढा, ४० वर्षीया नैनसरा अधिकारी, ४५ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीया देवीसरा बुढा, ४० वर्षीय अम्बर अधिकारी, पाँच वर्षीया निशा अधिकारी र २८ वर्षीय दीपक अधिकारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गाडी चालक भगवतिमाइ गाउँपालिका–२ रुम दैलेख निवासी ३० वर्षीय मानबहादुर रावत, भगवतिमाई गाउँपालिका ३ दैलेखका ३७ वर्षीय विरेन्द्र केसी र ३६ वर्षीय अम्बर बहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को सिमानामा पर्ने भीरबाटी भन्ने ठाँउमा सोमबार दिउसो साढे चार बजेतिर कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप दुर्घटना भएको थियो ।