प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जितेपछि हातहातमा लालपुर्जा दिलाउँछौ: डिना

२०७९ मंसिर १, बिहीबार १३:३८ बजे

बागमती –लोकतान्त्रिक बाम गठबन्धनतर्फका क्षेत्र नम्बर १ उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले जितेको पहिलो बर्षभित्रै हात–हातमा लालपुर्जा दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । बागमती गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ को संयुक्त चुनाबीसभामा बोल्दै उपाध्यायले आफ्नो बिजयी पश्चात् पहिलो प्राथमिकतामा लालपुर्जा वितरणको काम रहने जिकिर गरिन् ।

उम्मेदवार उपाध्यायले यस क्षेत्रमा राष्ट्रिय गौरबका आयोजनाका काम ल्याउने पनि बताइन् । उनले आफु यहि जनताकै लागि आएको र जनताकैबीचमा रहेर काम गर्ने दाबी गरिन् । यस क्षेत्रमा अधुरा र अपुरा रहेका विकास निमार्णलाई समेत पूर्णता दिन आफ्नोतर्फबाट सक्दो प्रयास रहने उनको भनाई छ ।

उम्मेदवार उपाध्यायले देश र जनताको समृद्ध र विकास चाहने भनेकै गठबन्धन सरकारले रहेको बताइन् । उनले देशलाई नयाँ दिशामा पु¥याई आर्थिक समृद्ध हासिल गर्न गठबन्धनलाई जिताउनुपर्ने उनको भनाई छ ।

जनता माविलाई क्याम्पस बनाउन पहल गर्छौ ः छिन्तु
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले फापरबारीमा रहेको जनता माविलाई क्याम्पस बनाउन प्रदेश सरकारबाट पहल गरिने बताए ।
बिहिवार बागमती गाउँपालिकाको फापरबारीमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उनले अघिल्लो कार्यकालमा यस विद्यालयलाई प्राविधिक शिक्षामा विकास गरेको बताउँदै अबको कार्यकालमा बामगती र आसपास जिल्लाबाट आउने विद्यार्थीलाई उच्च शिक्षा हासिल गराउन सक्ने गरी क्याम्पस सञ्चालनमा पहल गरिने दाबी गरे ।

बागमतीका धेरै युवाहरु खेल क्षेत्रप्रति आर्कषित भएको बताउँदै उम्मेदवार छिन्तुले गाउँपालिका स्तरीय खेलकुद ग्राम निमार्ण गरिने प्रतिबद्धता समेत जनाए । त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गरिने उनले बताए । छिन्तुले राष्ट्रिय –अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा बागमतीका युवाहरु सहभागी हुनेगरी खेलकुद क्षेत्रको विकास गरिने पनि बताए ।

उम्मेदवार छिन्तुले अधुरो रहेको बागमती गाउँपालिका वडा नम्बर ६ र ८ ( शान्तिपुर र फापरबारी ) जोड्ने पक्की पुल अबको प्रदेश सरकारले सम्पन्न गराएरै छाड्ने बताए । उनले आफुले यसअघि गरेका कार्यहरु धेरै अधुरो बसेकाले त्यसलाई पूर्णता दिन पनि फेरी उम्मेदवार बनेको बताए । छिन्तुले अघिल्लो पटकको निर्वाचनमा जस्तै यसपटक पनि जनताले भोट दिएर जिताउने आशा लिएको बताउनुभयो । साथै उनले नापी भएका जग्गाको लालपुर्जा वितरण प्रक्रियालाई अगाढी बढाईने र बाँकी भएका जग्गाको नापी गराइने समेत बताए ।