प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने

२०८१ पौष २, मंगलबार २०:४० बजे

हेटौंडा – दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेदेखि हेटौंडाको क्याम्पा-पिप्ले रंगशालामा हुने भएको छ। बागमती प्रदेश फुटबल संघले हेटौंडामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको टाईसिट सार्वजनिक गरेको हो।

प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका लिग च्याम्पियन टोलीहरूले सहभागिता जनाउनेछन्। नकआउट अवधारणामा सञ्चालन हुने यस प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने राष्ट्रिय लिगमा सहभागिता जनाउन पाउने छन्।

बागमती प्रदेश फुटबल संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख, शिल्ड, र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले एक लाख नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि करिब ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस पटक लिगमा सहभागी टोलीहरूमा पदमपोखरी युवा क्लब (मकवानपुर), बिएफसी चितवन, धुनिवेशी युथ समाज (धादिङ), बट्टर युथ क्लब (नुवाकोट), चित्लाङ फुटबल क्लब (काठमाडौं), थिमी युथ क्लब (भक्तपुर), माउन्ट एभरेस्ट एफसी (काभ्रे), चौतारा स्पोर्टिङ (सिन्धुपाल्चोक), टाइगर टिम (दोलखा), ब्लु अल्पाइन (सिन्धुली) र ललितपुरका क्लबहरू रहेका छन्।

पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दीपक लामाले टाईसिट सार्वजनिक गरेका थिए। गत वर्षको पहिलो संस्करणको विजेता टोली धादिङ जिल्ला रहेको थियो।