प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार हुने

२०७९ पौष १०, आईतबार ०६:२५ बजे

हेटौंडा – बागमती प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम आगामी बिहीबार पुस १४ गते हुने भएको छ। बागमती प्रदेश सभा सचिवालयले सुचना जारी गरी बिहीबार दिउँसो १२ बजे शपथग्रहणका लागि प्रदेशसभामा उपस्थिती हुन आग्रह गरेको छ ।

सचिवालयले प्रदेश सभा सदस्यहरूलाई शपथग्रहण कार्यक्रममा राष्ट्रिय पोसाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको सक्कल र प्रतिलिपि प्रमाणपत्र, नागरिकको सक्कल र प्रतिलिपि प्रमाणपत्र र हालसालै खिचेको छप्रति फोटोसहित अनिवार्य उपस्थितिका लागि भनेको छ।

त्यस्तै प्रदेश सचिवालयले प्रदेश सभाका सदस्यलाई आफ्नो मातृभाषामा समेत शपथ गराउने व्यवस्था गरेको छ। सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्ता सदस्यले शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपि प्रदेश सभा सचिवालयमा उपलब्ध गराउनुपर्नेछ।

मातृभाषामा शपथ लिन चाहने प्रदेश सभा सदस्यलाई शपथ लिने तीन दिनअगावै शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी प्रदेश सभा सचिवालयमा बुझाउन भनेको छ।

यसैबीच प्रदेश सभाका सदस्यको शपथपछि प्रदेश प्रमुखबाट प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ र १८ गतेमध्ये कुनै दिन आह्वान गर्न उपयुक्त हुनेबारे समेत सर्वदलीय बैठकमा छलफल भएको छ।

प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको २० दिनभित्रमा प्रदेश प्रमुखले प्रदेश सभाको आह्वान गर्नुपर्ने हुन्छ। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने प्रदेश सभाको बैठकले प्रदेश सभामुखको चयन गर्नेछ।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको प्रदेश सभाका सदस्यमध्येबाट निर्वाचन गर्ने नेपालको संविधानले व्यवस्था गरेको छ।