प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एकीकृत समाजवादी मकवानपुरद्वारा चिकित्सक कुट्नेलाई हदैसम्म कारवाही माग

२०८० भाद्र ३१, आईतबार ०२:३४ बजे

मकवानपुर – मकवानपुरको हेटौंडामा ड्युटीमा खटिएका चिकित्सक कुटपिट गर्नेलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० मकवानपुरले माग गरेको छ । पार्टी मकवानपुरका अध्यक्ष विष्णु दहालले आज शनिबार एक प्रेस विज्ञप्ती जारी गर्नुहुँदै चिकित्सक कुट्ने घटनामा संलग्नहरुलाई कानून अनुसार कारवाही गर्न माग गरेका हुन् ।

समाजवादीले अस्पतालका चिकित्सकमाथि उच्छृङ्खल तत्वबाट सांघातिक आक्रमण भएको भन्दै घटनाप्रति खेद व्यक्त गरेको छ । ‘हेटौंडा १ स्थित सञ्चो अस्पतालका चिकित्सकहरुमाथि केही उत्छृङ्खल तत्वहरुबाट भएको सांघातिक आक्रमणप्रति हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० खेद व्यक्त गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

विगतमा पनि विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा कर्मचारी माथि हेटौडामा यस्ता घंटना हुँदै आएको बताउँदै एकीकृत समाजवादीले यसले हेटौंडाको सिङ्गो स्वास्थ्य क्षेत्रमाथि नकारात्मक प्रभाव पार्नसक्नेप्रति चिन्ता व्यक्त गरेको छ । पार्टीले पटक–पटक हुने यस्ता घटनाले चिकित्सक तथा कर्मचारीहरुमाथि सुरक्षाको गम्भीर प्रश्न उठ्न गई हेटौंडाको सिङ्गो स्वास्थ्यक्षेत्र माथि नकारात्मक प्रभाव पर्नसक्ने विज्ञप्तिमा उल्लेख गरेको हो ।

समाजवादीको विज्ञप्तिमा चिकित्सक कुट्नेलाई कारवाही माग गर्दै भनिएको छ,‘स्वास्थ्य संस्था एवम् स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुतीका लागि यस्ता उच्छृङ्खल क्रियाकलापमा संलग्नहरुलाई कानून अनुसार हदैसम्मको कारवाहीको लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछ ।’

एक महिना अघि मृत्यु भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही भएको भन्दै बुधबार हेटौंडा १ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।

कुटपिटमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले मृतक राजेशका श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अमित प्रधानलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ परेका तथा घटनामा संलग्न अन्य व्यक्तिलाई खोजी गरी आवश्यक कारवाही गर्न प्रहरीलाई चौतर्फी दबाब छ ।

शनिबार पनि डाक्टरमाथि कुटपिटको विरोधमा बागमती प्रदेश सभाको भवन अगाडी प्रदर्शन गरिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुलाई सुरक्षाको खतरा रहेको गुनासो गरेका छन् ।