प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा वृद्ध आमाबुवा र भाईमाथि चिरपट प्रहार, मैनाली पक्राउ

२०८० आश्विन ११, बिहीबार ०६:४० बजे

हेटौंडा – हेटौंडामा एक पुरुषले आफ्नै बाबुआमा र भाईलाई चिरपटले हानेर घाइते बनाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं.३ ब्लोन टोल बस्ने ५० बर्षीय बद्रिनाथ मैनालीले चिरपट प्रहार गरेका हुन् ।

बद्रिनाथको चिरपट प्रहारबाट उनका बाबु ७३ बर्षीय रामजी मैनाली, आमा ६५ बर्षीय माया मैनाली र भाई ४० बर्षीय केदार मैनाली घाइते भएका छन् । प्रहरीका अनुसार रामजीको दांया हात र कुहिनामा, मायाको टाउकोमा चोट र केदारको हातमा चोट लागेको छ ।

घाइते तीनै जनाको उद्धार गरी हेटौंडा अस्पताल उपचारको लागि पठाईएकोमा माया मैनालीलाई चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कुटपिट गर्ने बद्रिनाथ मैनालीलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीबाट नियन्त्रणमा लिएको छ ।