हेटौँडा – बागमती प्रदेशको आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरिएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको प्रदेश सरकारको राजस्व परिचालन, सार्वजनिक खर्च, प्रदेश सरकारले सम्पन्न गरेका कामलगायत प्रदेशका आर्थिक तथा सामाजिक सूचक समेटेर बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा (तामाङ) ले बागमती प्रदेश सभाको बिहीबार बसेको प्रदेश सभा बैठकमा पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धि १.८ प्रतिशत हुने अनुमान गरिएको छ। आव २०७८/७९ मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धि ६.७० रहेको थियो ।
चालु आर्थिक वर्ष नेपालको कुल गार्हस्थ उत्पादन ५३ खर्च ८१ अर्ब ३४ करोड रहेकोमा बागमती प्रदेशको ३६.८० प्रतिशत अर्थात् १९ खर्ब ८१ अर्ब ३३ करोड रुपियाँ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
मन्त्री लामाद्वारा प्रदेश सभामा पेस गरिएको आर्थिक सर्वेक्षणमा प्रदेश सरकारको सार्वजनिक आय र व्यय बढ्दै गएको र देशको समग्र कृषि उत्पादनमा यस प्रदेशको योगदान १७ प्रतिशत रहेको उल्लेख छ । साथै समग्रमा प्रदेशको आर्थिक परिसूचकहरूमा केही प्रतिकूल रहेको भए पनि सामाजिक सूचकमा क्रमशः सुधार आएको आर्थिक सर्वेक्षणमा दाबी गरिएको छ ।
यसैबिच प्रदेश सरकारद्वारा आगामी आव २०८०/८१ को बजेट यही असार १ गते शुक्रबार ल्याइने भएको छ । असार १ गते बस्ने प्रदेश सभाको पहिलो बैठकमा मन्त्री तामाङले आव २०८०/८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने गरी प्रदेश सभा बैठकको सम्भावित कार्यसूची तय भएको छ ।
यस्तै असार १ गतेको प्रदेश सभाको दोस्रो बैठकमा मन्त्री तामाङले आव २०५०/८१ को बजेट वक्तव्यको प्रति टेबुल गर्ने र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने कार्यसूची बनेको छ।
साथै मन्त्री तामाङले सोही बैठकमा बागमती प्रदेश सरकारको आव २०७९/८० को चैत मसान्तसम्मको प्रगति विवरण पेस गर्नुहुने छ। प्रदेश सरकार चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँ विनियोजन गरेको थियो ।गोरखापत्र दैनिकबाट