हेटौंडा – बागमती प्रदेश सरकरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने र प्रतिष्ठानलाई चितवन सार्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै नेकपा एमाले निकट जनवर्गीय संगठनले हेटौँडामा बिरोध गरेका छन् ।
राजनीतिक प्रतिसोध साँध्नको लागि बागमती प्रदेश सरकारले शिक्षण अस्पतालको रुपमा विकास भैरहेको अस्पताललाई पुन पुरानै अवस्थामा ल्याउने गरि अध्यादेश ल्याउनु मकवानपुरे जनताको स्वास्थ्य माथिको खेलवार्ड भएको भन्दै एमालेका जनवर्गीय संगठनले बिरोध गरेका हुन् ।
जनवर्गीय संगठनका नेताहरुले हात तथा टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका थिए । “स्वास्थ्य विज्ञान प्रतिष्ठान सार्न पाईदैन, जनता मार्न पाईदैन” नारा सहितको प्लेकार्ड बोकेका युवाहरुले प्रर्दशन गरेका थिए ।
उनिहरुले बागमती प्रदेश सरकारले जनविरोधी काम गरेको भन्दै अध्यादेश खारेजी माग गरेका छन् । हेटौडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने अध्यादेश २४ घण्टा भित्र फिर्ता लिन बागमती प्रदेश सरकारलाई अल्टीमेटम दिएका छन् । अध्यादेश फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।