हेटौंडा, १ असार-मकवानपुरको बकैया गाउँपालिकाबाट ल्याइएको माटोमा युरेनियम भएको आशंका गरिएको छ । बकैयाबाट नवलपरासी लाने भनिएको १५ भन्दा बढी ट्रक हेटौंडा उपमहानगरको कार्यालय अगाडि राखिएको छ ।
बकैयाको धिंयालबाट ल्याइएको माटोमा युरेनियम भएको आशंका स्थानीयले गरेका छन् । उपमहानगरले भने निकासी कर छली गरी ल्याइएका कारण ती ट्रक बरामद गरेको हो । १५÷२० वटा ट्रक तथा टिपरमा माटो ल्याएको र उपमहानगरको राजश्व नतिरेको देखिएकोले ट्रक नियन्त्रणमा लिइएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिएका छन् ।
उपमहानगरको राजश्व टोलीले नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताए । ट्रकमा रहेको माटोको विषयमा भने आफूलाई यकिन जानकारी नभएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । उपमहानगरको राजश्व प्रमुख जगन्नाथ सापकोटाले निकासी कर नतिरीकन निकासी गर्न लागेको पाइएकोले नियन्त्रणमा लिएको बताए । प्राकृतिक स्रोतमाथि लगाइएको निकासी कर नियमानुसार तिरेर लैजानु पर्नेमा गैरकानूनी रुपमा लैजान लागेको देखिएको सापकोटाले बताए । माटोमा युरेनियम भए÷नभएको हेर्न उपमहानगरसँग प्राविधिक र प्रबिधि दुबै नभएको बताइएको छ ।
यो विषयमा प्रशासनले हेर्नुपर्ने बताइएको छ । निकासी करबापत तिर्नुपर्ने कर नतिरी जान खोजेछि नियन्त्रणमा लिइएको ट्रकलाई जरिवानासहित राजश्व तिराइने सापकोटाले बताए । १० चक्के गाडीको कर जरिवानासहित करिव २० हजार रुपैयाँ पर्ने बताइएको छ । तर, माटो बोकेर आएका अधिकांश ट्रक १२, १४ चक्के छन् । सामान्य माटो भन्दा फरक देखिने माटो कुन प्रयोजनका लागि लैजान लागिएको भन्ने विषयमा केही खुलेको छैन । बकैया गाउँपालिकाले भ्याटबील जारी गरी माटो बिक्री गरेर पठाइएको प्रारम्भिक चरणमा देखिएको छ ।
बकैयाँमा माटो उत्खनन् गर्न अनुमति लिएको र बकैया–४ र ११ नं. वडाबाट बिगतदेखि नै माटो लगेको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । दाङको सिमेन्ट उद्योगमा लैजाने भनिएको अध्यक्ष लामिछाने बताउँछन् । बकैया गाउपालिकालाई तिर्नुपर्ने राजश्व भने तिरिएको बकैया गाउँपालिकाले जनाएको छ । शुक्रबार बेलुका उपमहानगरले नियन्त्रणमा लिएका ट्रक शनिबार अपरान्हसम्म नगरपालिका रोडमा रोकिएका छन् ।