प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा अस्पतालका डा. विडारी सञ्चोमा कसरी कुटिन पुगे ?, मृतक पक्षधर न्याय माग्न सडक तताउँदै

२०८० आश्विन ३, बुधबार ०१:५७ बजे

हेटौंडा – गत भाद्र २७ गते डाक्टरको लापरवाहीका कारण आफ्नो विरामीको मृत्यु भएको भन्दै सञ्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि एक समुहले कुटपिट गरे । त्यसपछि मकवानपुर सहित देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको छाता संगठन नेपाल चिकित्सक संघले आफ्नो सुरक्षा र कुटपिटमा संलग्नलाई कारवाहीको माग सहित ७२ घण्टाको अल्टिमेटम दियो ।

त्यसमध्ये हेटौंडा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी यसरी आन्दोलनमा उत्रियो, ४८ घण्टा नपुग्दै आकस्मीक बाहेक सबै सेवा बन्द गरेर सामुहिक राजिनादेखि बागमती प्रदेश सचिवालयसम्म घेराउ गर्न पुगे । चिकित्सकहरु आन्दोलित बन्दा करिब ४ दिन मकवानपुर जिल्लाको स्वास्थ्य सेवा आकस्मीक बाहेक सबै सेवा ठप्प हुन पुग्यो

त्यसपछि भाद्र ३१ नेपाल चिकित्सक संघको अल्टिमेटम उपर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको नेतृत्वमा बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था संरक्षण सम्बन्धि ऐन २०६६(पहिलो संसोधन ऐन २०७९) बमोजिम कुटपिटमा संलग्नलाई कारवाही गर्ने सहित ६ बुँदे सहमति भयो । त्यसपछि चिकित्सकको आन्दोलन स्थगित भयो । मकवानपुर सहित देशभरका स्वास्थ्य संस्थाको सेवा पुरानै अवस्थामा सुचारु भयो ।

६ बुँदे सहमति 

तर, मृतक हेटौंडा उपमहानगरपालिका–१२ का ४१ बर्षीय राजेश प्रधानका आफन्त तथा उनका पक्षधरहरुले उक्त निर्णयप्रति असन्तुष्टि ब्यक्त गरिरहेका छन् । आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१२,१३ र १४ नम्बर वडाका नागरीकहरु भेला भएर सामुहिक रुपमा असन्तुष्टी जनाएका हुन् । निर्णय डाक्टरले कमीकमजोरी लुकाउने र पीडितलाई थप पिडा थप्ने गरी भएको मृतकका पक्षधरहरुको आरोप छ ।

युवा अवस्थाकै छोरा, श्रीमान, बुवा गुमाएपछि परिवार उत्तेजनामा आउनु स्वाभाविक रहेको बताउँदै डाक्टर गरेको उपचार प्रक्रियाको बारेमा छानविन हुनु पर्ने उनीहरुले माग गरेका छन् । प्रहरी हिरासतमा रहेका मृतक परिवारलाई रिहा गर्न पनि माग गरेका छन् । उनीहरुले मृतक परिवारको पक्षमा विभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

सन्चोमा कुटाई खाने डा. विडारी हेटौंडा अस्पतालका 
सञ्चो अस्पतालमा गत भाद्र २७ गते बुधबार बिहान कुटाई खाने मध्ये एक थिए डा. प्रशान्त विडारी । उनी हेटौंडा अस्पतालको आइसियु तथा अपेशन विभागका डाक्टर हुन् । उनी १० बजेपछि हेटौंडा अस्पतालमा विरामी जाँच गरिरहेको अवस्थामा हुनु पर्ने थियो, तर उनी नीजि अस्पताल सञ्चोमा कुटाई खाई रहेका थिए । भाइरल भएको कुटपिटको भिडियोमा समय १० बजेर ५ मिनेट गएको प्रष्ट देख्न सकिन्छ । १० बजेपछि हेटौंडा अस्पतालमा हुनु पर्ने डाक्टर निजी अस्पतालमा कसरी पुगे ? यसमा कसको मिलोमत्तो छ ? यस विषममा पनि छानविन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको जानकारहरु बताउँछन् ।

हेटौंडा अस्पताल पुरानो भवनमा सञ्चालनमा हुँदा त्यहाँ डाक्टरहरु निजि अस्पतालमा धाउने र धाउन लगाउने प्रवृति कायमै रहेको प्रष्ट हुन्छ । डा. विडारीले प्रहर खबरसंग आफु बिहान १० बजे हेटौंडा अस्पताल पुग्नु पर्ने भएपनि पुग्न नसकेको स्वीकार गरे । बन्दक बनाएर कुटपिट गरेको कारण हेटौंडा अस्पताल समयमा पुग्न नसकेको बताए ।

आईसियू र अप्रेशनको विभाग हेर्ने भएकोले डा.विडारीको जतिखेर पनि डिउटी पर्न सक्ने हेटौंडा अस्पतालका अध्यक्ष राजेश सेढाईले बताए । उनले डिउटी समयमा हेटौंडा अस्पतालको डाक्टरलाई बाहिर जान छुट नभएको बताए । यसबारेमा मेडिकल सुपरइन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटासंग बुझ्ने बताए ।

अस्पतालभित्रै करिब एक घण्टा चिकित्सक बन्धक बनाएर कुटिदा अस्पतालको प्रशासकहरु मुखदर्शक बन्नु र सारासंसारले सीसीटिभीमा कैद भएको भिडियो हेरेर क–कसले पिट्यो ? भनेर पहिचान गर्दा किटानी जाहेरी समेत दिन नसक्नु कारण, डा. विडारी जति बेला कुटाई खादै थिए सञ्चोमा, त्यती बेला उनी हेटौंडा अस्पतालमा हुनु पथ्यो । कुटपिट घटनाको बिषयमा सञ्चो भन्दा हेटौंडा अस्पतालका चिकित्सकहरु खारो रुपमा आन्दोलनमा उत्रिएको थियो । यस्ता कुरामा हेटौंडा अस्पताल र सञ्चो अस्पतालका प्रशासक र ब्यवस्थापकबीच मिलोमत्तो रहेको जनवृत्तमा चर्चा छ ।