प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन

२०८१ असार १५, शुक्रबार २०:०२ बजे

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

गुम्बाका अध्यक्ष चन्द्रबहादुर लोको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शुक्रबार टसी मोलम गुम्बाको नवनिर्मित गुम्बा भवन उद्घाटन गरेका हुन् ।

नेता बानियाँ संस्कृति पर्यटन मन्त्री हुँदा संघीय सरकारको २ लाख रुपियाँबाट निर्माण सुरु गरिएको गुम्बामा मकवानपुरगढी १ वडा कार्यालयबाट पटक/पटक गरेर १२ लाख रुपियाँ तथा जनश्रमदानबाट निर्मित गुम्बाको नेता बानियाँले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि नेता बानियाँले तामाङ जातीहरुको बाहुल्य बसोबास रहेको रानीसेरामा बौद्ध गुम्बाले सबै टोल समुदायका रहेका जनतालाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने बताए ।

स्थानीय नेता, समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले संघीय मन्त्री हुँदा संघीय सरकारबाट वजेट विनियोजनमा सहयोग गरेको बताउँदै नेता बानियाँले आगामी दिनमा पनि यस गुम्बाको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, मकवानपुरगढी १ का वडाअध्यक्ष आईतसिं लो, वडा नम्बर ७ का वडाअध्यक्ष सुर्यबहादुर रुम्बा, कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजविर मोक्तान, कोषाध्यक्ष आकाश गोले, समाजसेवीहरु सुवात सिं थिङ्ग, सुर्यबहादुर स्याङतान, रामप्रसाद चौरेललगायतले मन्तव्य ब्यक्त गरेका थिए ।