हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी युवा क्लवले मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा बागमती गाउँपालिकाको सहिद स्मृति क्लवलाई ३–१ गोलले पराजित गर्दै पदमपोखरीले उपाधि जितेको हो ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनलमा पदमपोखरीलाई उपाधि दिलाउनका लागि दिवश गोले, विजेश तितुङ र विकी जिम्बा एक–एक गोल गरे । सहिद स्मृतिका उप्रान्त आले एक गोल फर्काए ।
लिग च्याम्पियन पदमपोखरी बागमती प्रदेश लिगमा समेत छनोट भएको छ । उपाधि विजेता पदमपोखरीले नगद एक लाख, ट्रफी, मेडल हात परेको छ भने उपविजेता बागमतीले नगद ५० हजार प्राप्त गरेको छ ।
विधागततर्फ पदमपोखरीका गोलरक्षक लिगको रोजक थिङ सर्वोत्कृष्ट खेलाडीसंगै उत्कृष्ट गोलरक्षक घोषित भए । पदमपोखरीकै नमराज थिङ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भए। उता बागमतीका अरुण आले उत्कृष्ट डिफेण्डर र उप्रान्त आले उत्कृष्ट फरवार्ड घोषित भए।
प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा लगायतले पुरस्कार वितरण गरे।
५ वर्षपछि आयोजना भएको लिगमा मकवानपुरका २८ वटा क्लवको सहभागिता रहेको थियो। यसअघि २०७६ सालमा लिगको आयोजना भएको थियो। उक्त संस्करण न्यू डाँफे युवा क्लब लिग च्याम्पियन बनेको थियो ।