हेटौंडा – हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आज ९मंगलबार० एक खेल हुँदैछ ।
आज हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् । स्टार खेलाडीले भरिएको मनाङ र पुलिसबिचको खेल रोमान्चक हुन आँकलन गरिएको छ ।
मनाङले यस प्रतियोगिताको लागि मछिन्द्र क्लबबाट राष्ट्रिय टोलीका नियमित खेलाडीहरु भित्राएको छ । फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर विशाल राई, विंगर सुजल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठलाई भित्राएको हो ।
त्यस्तै पुलिसले मछिन्द्रका अभिषेक रिजाललाई भित्राएको छ । उनले प्रतियोगितामा एक खेल खेल्दै एक गोल समेत गरेका छन् ।
पुलिसले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको थियो। उता मनाङले भने सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो ।
राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेकोले पुलिसको तुलना मनाङ अलि बालियो देखिन्छ । टोली खेल जित्न खेलाडीको खेल र कोचको रणनीति महत्वपुर्ण हुन्छ ।
मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।
त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ ।