मकवानपुर – मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा दुईजना भारतीय नागरिक र एकजना नेपाली नागरिक छन्।
मकवानपुरको थाहा नगरपालिका–११, टिस्टुङ नौखण्डेस्थित त्रिभुवन राजपथ सडकखण्डमा २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिमसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको हरियाणा जिल्ला, ग्राम पंचायत गोविन्द नगर थाना सदरका २५ वर्षीय कुनाल गोथ्वाल र न्यु सुवास नगर थाना सदरका २० वर्षीय मनिस कुमार छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार, डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेश र अफिम ल्याइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङको टोलीले कारलाई रोकी जाँच गर्दा लागूऔषध फेला परेको हो। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि हेटौंडा जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाइएको छ।
१०१ किलो गाँजासहित नेपाली नागरिक पक्राउ
त्यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट १०१ किलो गाँजासहित २० वर्षीय राजन रारुत कुर्मी पक्राउ परेका छन्।
रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर गाँजा ल्याउँदै गर्दा कुर्मीलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूलाई आइतबार बिहान सार्वजनिक गरिएको छ। लागूऔषध ओसारपसार गर्ने समूह र तस्करीको शृङ्खलाबारे थप अनुसन्धान भइरहेको डीएसपी अर्यालले जानकारी दिएका छन्।