हेटौंडा – हेटौंडा १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधरणसभाको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरकि सदस्य बिष्णुमाया थपलिया र जेष्ठ सदस्य रत्न बहादुर दुरैलीले संयुक्त रुपमा उद्घाटन गरिन् ।
कार्यक्रममा अध्यक्ष अरुणकुमार खतिवडाले अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष इमान बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले आर्थिक बर्ष २०७९र०८० मा ८२ लाख ३९ हजार ३८९ रुपैयाँ नाफा कमाएको छ ।
सहकारीको कुल शेयर रकम ५१ लाख ९९ हजार ६००, कुल बचत रकम ५ करोड ९७ लाख ४६ हजार ९६० , कुल कर्जा लगानी ५ करोड ८३ लाख ९ हजार ५०४ र कुल मौज्दात १ करोड ७७ लाख ९ हजार ८०५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको चालु आर्थिक बर्षमा ४१ जना सदस्य वृद्धि भएको छ । हाल सहकारीको कुल १ हजार ८६ जना शेयर सदस्य कायम भएको छ । सहकारीले ४ जना सेयर सदस्यका परिवारलाई मृतक राहत कोष वितरण तथा १६ जना जना सदस्यलाई सुत्केरी स्याहार खर्च वितरण गरिएको सचिव खतिवडाले जानकारी दिए ।
सहकारीले चालुआर्थिक बर्षका लागि नयाँ कार्यक्रम थप गर्दै पुराना कार्यक्रमलाई निरन्तरता दिन योजना बनाएको छ । प्रत्येक शेयर सदस्यको सेयर १५ हजार पुर्याउने र ऋण लिँदा प्रति दुई हजारमा एक कित्ता शेयर अनिवार्य थप गर्दै लैजाने जनाएको छ । चालुआर्थिक बर्षको अन्त्यमा शेयर सदस्य संख्या १४ सय पुर्याउने सहकारीको लक्ष्य छ । आर्थिक मन्दीलाई ध्यानमा राख्दै कर्जा प्रवाह ८ लाख रुपैयाँसम्म प्रदान गरिने सहकारीले जनाएको छ ।
कार्यक्रममा ऋण उपसमितिका संयोजक माधव नारायण तुलाधरले ऋण उपसमितिको प्रतिवेदन र लेखा समिति संयोजक कपिल प्रसाद पराजुलीले आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहकारीले उत्कृष्ट बचतकर्ता बुद्धि बहादुर आले र असल ऋणीतर्फ संगिता पौडेललाई सम्मान गरेको थियो । त्यस्तै सहकारीले एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ ३.६५ जीपिए ल्याउने ज्योति माविकी छात्रा पवित्रा तिमल्सिना र संस्थागत विद्यालयतर्फ ३.९० जीपिए ल्याउने तासिर बोर्डिङ स्कुलका मणिराज बराललाई सम्मान गरेको थियो ।
कार्यक्रममा ज्योति माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, ज्योति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडा, सहकारीका सल्लाहकार केशब पण्डित, सेयर सदस्यका तर्फबाट तुलसी गिरी लगायतको उपस्थिती रहेको थियो ।