प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१ करोड १८ लाखको लागतमा मकवानपुर गढी दरबारको जीर्णोद्धार सुरु

२०७९ फाल्गुन १५, सोमबार ०४:०४ बजे

हेटौंडा – मकवानपुर जिल्लाको महत्वपूर्ण मकवानपुर गढी दरबारको जीर्णोद्धार सुरु गरिएको छ । ऐतिहासिक महत्वको मकवानपुर गढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्व विभागले जीर्णोद्धार सुरु गरेको हो ।

मकवानपुर गढी दरबार परिसरमा रहेको श्रीकृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेषको मर्मतसम्भार गरिने भएको छ । मकवानपुर गढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले मन्दिरको पश्चिमतर्फ रहेको भवनको जीर्णोद्वार सहित छाना समेत हाल्ने योजना रहेको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षकोर कमबाट भवनको मर्मत तथा संरक्षण गरिने छ, उहाँले भन्नुभयो । आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरी छाना समेत हाल्ने योजना बनाइएको छ, पुरानै शैलीमा मर्मत तथा संरक्षणको काम हुनेछ ।

एक करोड १८ लाख ४३ हजार ९२३ रुपियाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । मन्दिरको पूर्वतर्फ रहेको गढी दरबारको भग्नावशेषको यथास्थितिमा नै जीर्णोद्धार सहित मर्मत तथा संरक्षण गरिने भएको छ ।

उहाँले मन्दिरको पूर्वतर्फ रहेको गढी दरबारमा छाना लगाउने काम नहुने बताउँदै गढी दरबार प्रवेश गर्ने द्वार अगाडि रहेको काठको पुल चालू आवको बजेटबाट चौडा गरिने बताउनुभयो । दरबार प्रवेशद्वार भन्दा काठकोपुल सानो रहेकोले प्रवेशद्वार बराबर नै पुल चौडा बनाइने भएको छ । गोरखापत्र दैनिकबाट