हेटौंडा – नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले पाँच बर्ष दुःख पाउँने बताएकी छन् । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १, नयाँ गाउँमा बुधबार आयोजित चुनाबी कोणसभामा बोल्दै उनले गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धीका पक्षमा साथ दिन आग्रह गरे ।
‘देखेर बुझेपछि मात्र काम गर्ने हो, त्यसैले आज म गाउँको अवस्था बुझ्न गाउँ–गाउँमा पुगिराखेको छु,’ उनले भनिन्, ‘गठबन्धनलाई भोट हाल्न चुक्नुभयो भने ५ वर्ष दुःख तपाईं हामीले पाउँछौ, विकास हुन सक्दैन ।’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनुभएको उनले आफ्नो राजनितीको मुख्य उदेश्य नै गरिब निमुखाको जीवनस्तर उकास्नु रहेको भन्दै देश र जनताप्रति सदैव क्रियाशील रहने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जमान सिं वाईबाले लोकतान्त्रिक बाम गठबन्धन सरकारको पहलमै बजेट विनियोजन भएर उक्त क्षेत्रमा अति समस्याको रुपमा रहेको खानेपानीको व्यवस्था गर्न सफल भएकाले जनताले उचित मुल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्रबहादुर श्रेष्ठ, बागमती प्रदेश परिषद सदस्य विनायक गोले, नेकपा एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, नेपाली काँग्रेस मकवानपुरकी जिल्ला सदस्य सुमित्रा लामा, ईन्द्रसरोबर गाउँपालिका १ का वडा अध्यक्ष सुवास आले मगर लगायतले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट दिएर जिताउँनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम नेपाली काँग्रेस ईन्द्रसरोबर गाउँपालिकाका सभापती विश्वलाल लामाको अध्यक्षतामा भएको थियो ।