प्रहर खबर
 २०८१ बैशाख ३०, आईतबार    

नारायणी हत्याका अभियुक्त शिवराम अर्जुन बनेपछि...

२०८० श्रावण २९, सोमबार १३:५९ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमल्सिनाको हत्यामा संलग्न अभियुक्त व्यक्ति चोरी मुद्दामा कारागारभित्रै भेटिएका छन् । हत्यामा संलग्न अभियुक्त धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी नाम परिवर्तन गरी नकवजनी चोरी गरेको मुद्दामा कारागारमा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको हो ।

६ वर्ष पहिले, २०७४ पुस ३० गते काठमाडौंको बल्खुमा तिमिल्सिना मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको थियो । मृतकको शरीर खानतलासी गर्दा सानो किप्याड मोबाइल फेला परेको थियो।

उक्त मोबाइलमा आफन्तको नम्बर फेला परेपछि आफन्तले शवको सनाखत गरेका थिए। घटना घटेको दिन मृतकसँग बारम्बार फोन सम्पर्क भएका नम्बरहरुको अनुसन्धान गर्दै जाँदा बढी समय फोन सम्पर्क गर्ने शिवरामको नम्बर देखिएको थियो । अनुसन्धान गर्ने क्रममा नारायणीको हत्यामा उनीसँगै ज्यामी काम गर्ने शिवराम संलग्न भएको खुल्न आएको थियो ।

शिवराम अधिकारीको खोजतलास गर्दा घटनापछि उनी फरार रहेको पाइएको थियो। प्रहरीलेउनको निरन्तर खोजी गरिरहेको थियो। घटनापछि शिवराम उदयपुरको कटारी गएर बसेका थिए। तर प्रहरीले खोजिरहेकाले त्यसपछि उनी सिराहाको मिर्चैयामा देखा परेका थिए। त्यसको केही दिनपछि मकवानपुर पुगे र त्यहाँबाट धादिङको सल्यानटार गएका थिए।

खोजतलासका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली धादिङ पनि पुगेको थियो। तर फेला पार्न सकेको थिएन। प्रहरीले उनको खोजी भने निरन्तर गरिरहेको थियो। पछिल्लो समय काठमाडौंको रामकोट क्षेत्रमा तरकारी टनेल सञ्चालन गर्दै आएको सूचना प्रहरीले पाएको थियो। त्यो क्षेत्रमा गएर स्थानीयलाई शिवरामको फोटो देखाएर सोधखोज गर्यो। शिवराम फेला परेनन, त्यहाँबाट पनि प्रहरी रित्तो हात पर्कियो ।

शिवरामकी श्रीमती नानिमाया अधिकारीले कारागारमा निरन्तर सम्पर्क गरेको देखियो। त्यसपछि प्रहरीको अनुसन्धान कारागारतर्फ सोझिएको थियो। नानिमायाले फोन गर्ने व्यक्ति अर्जुन अधिकारी भन्ने गरेको पाइयो। अर्जुन अधिकारी भनिएका व्यक्तिको बारेमा प्रहरीले आफन्तसँग सोधखोज गर्यो। आफन्त मार्फत नै उनी थानकोटमा चोरी गर्दा पक्राउ परी केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको खुलेको हो।

घटना पश्चात फरार रहेका अधिकारी र केन्द्रीय कारागार सुन्धारामा रहेका अर्जुन अधिकारी एउटै व्यक्ति रहेको पुष्टि हुन आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए । उनका अनुसार अधिकारी २०७९ कात्तिक ६ गते थानकोटमा चोरी गर्दागर्दै पक्राउ परेका थिए । नकवजनी चोरी मुद्दामा २०७९ कात्तिक २९ गते ३ वर्ष कैद सजाय ठहर भई अर्जुन अधिकारी नाममा उक्त कारागारमा रहेको खुल्न आएको उनले बताए ।

कारागारबाट अर्जुन अधिकारीको फोटो झिकाई उनकी श्रीमती र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रतिनिधीबाट समेत सनाखत गराउँदा उनी अर्जुन अधिकारी नभई शिवराम अधिकारी रहेको खुलेको हो। उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ । प्रहरीले उनीविरुद्ध पीडित पक्षको जाहेरी समेत लिएको छ।