हेटौँडा— स्थानीय तह सदस्य निर्वाचन, २०७९को तयारीका लागि मकवानपुरमा तयारीका कार्य द्रुत गतिमा भइरहेको छ । जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्रीको प्याकिब गरी तयारी अवस्थामा राखिएको छ भने मतदाता परिचयपत्रको व्यवस्थापन गरिएको छ ।
हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलका अनुसार यही वैशाख २५ गतेदेखि मतदाता परिचयपत्र वितरण र मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा स्थानीय तहमा निर्वाचन सामग्री पठाइ २७ गतेभित्र उपलब्ध गराइसकिनेछ । जिल्लामा यही वैशाख २२ र २३ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । तालिममा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतले प्रशिक्षण दिएका थिए ।
मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष, एक लाख ४४ हजार ९५९ महिला र छ जना तेस्रो लिब्गी गरी कुल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन् । यसमध्ये ६५ हजार ५४ नयाँ मतदाता रहेका छन् । एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका गरी १० पालिका रहेको सो जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र निर्धारण गरिएको छ ।