प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मंगलबारबाट मात्रै मौसममा सुधार आउने

२०८१ कार्तिक १९, सोमबार २०:३४ बजे

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा भएको छ। सोमबार मध्याह्नपख उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो।

मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा वर्षा भएको थियो। त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको थियो ।

उनका अनुसार मंगलबारबाट मात्रै मौसममा सुधार आउने देखिन्छ। ‘हामीले तिहारमा पानी पर्छ भनेर यसअघि नै प्रक्षेपण गरेका थियौं। भोलिबाट मात्रै मौसममा सुधार आउँछ,’ उनले भने।

धान थन्क्याउने याम पानी पर्दा किसानहरू चिन्तित बनेका छन्। भोलिबाटै मात्रै बाली थन्क्याउन मौसमविद्हरूले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालको मौसम प्रणालीमा अहिले पश्चिमी वायु, स्थानीय वायुको प्रभावका छ। त्यस्तै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावका कारण वर्षा भइरहेको हो।

सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको थियो।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको थियो।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको छ। राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको थियो।