प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा सवारी दुर्घटना अपडेटः ट्रक चालक पक्राउ, ८ जना घाइते चितवन रिफर

२०८० आश्विन १७, बुधबार २०:२३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ मा म्याजिकलाई ठक्कर दिएर फरार भएका ट्रक चालक पक्राउ परेका छन् । बुधबार दिउँसो पूर्वपश्चिम राजमार्ग किनारमा यात्रु चढाईराखेको ना १ ज ३१६७ नम्बरको म्याजिकलाई ठक्कर दिएर ना ५ ख ९६८४ नम्बरको ट्रकले ठक्कर दिँदा ९ जना घाइते भएको थियो ।

दुर्घटनालगत्तै फरार रहेका चालक घादिङ्ग जिल्लाको धादिङबेसी–९ का २९ बर्षीय विराज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सवारी दुर्घटना भएको २ घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको हो । 

मनहरीबाट हेटौंडातर्फ आउदै गरेको म्याजिक सडक किनारमा यात्रु चढाउने क्रममा सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट म्याजिकमा सवार ९ जना घाइते भएका थिए । उनीहरुमध्ये म्याजिक चालक मनहरी गाउँपालिका–९ खरंगा बस्ने ४३ बर्षीय अम्बर सिंह डागी उपचारपछि डिस्चार्ज भएका छन् ।

बाँकी घाइते ८ जनालाई हेटौंडाका अस्पतालमा उपचार सम्भाव नभएपछि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिफर गरिएकामध्ये हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने ३६ बर्षीया बिमल पुलामी मगर, हेटौंडा उपमहानगरापालिका–१९ नेवारपानी बस्ने लोक बहादुर मोक्तानकी छोरी २ बर्षीया कुश्मि मोक्तान र नेवारपानीकै ५६ बर्षीया ठुलिमाया बम्जनको अवस्था गम्भीर रहेको छ ।

यस्तै राक्सीराङ गाउँपालिका–२ बस्ने २१ बर्षीया रिता राना मगर, हेटौंडा–१९ नेवारपानी बस्ने ३५ बर्षीय होईसेल लामा, सोही स्थानका ३३ बर्षीय लोक बहादुर मोक्तान, ५६ बर्षीया लाल कुमारी स्याङतान र ३० बर्षीया कबिता नेगीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।