प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कर्मचारीमा राजनीति, लथालिङ्ग मकवानपुरगढी गाउँपालिका

२०७९ आश्विन १६, आईतबार १२:४८ बजे

हेटौंडा – गत बैशाखको स्थानीय तह निर्वाचनबाट मकवानपुरगढी गाउँपालिकावासीले अध्यक्षमा दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा मान कुमारी नेपाली(पाख्रिन) पायो । स्याङ्तानको शिक्षण पेशामा लामो अनुभव, नेपाली परिवर्तनको लागि जनयुद्धमा होमिएकी महिला ।

मकवानपुरगढीवासीलाई उनीहरुमाथि धेरै आशा र भरोसा थियो । उनीहरुको पछिल्लो चार महिनाको कार्यसम्पादनले त्यो आशा र भरोसामा पुर्ण विराम लागेको आभाष भएको छ ।

देशका कतिपय स्थानीय तहले १०० दिनको प्रगतिबिवरण सार्वजनिक गरी नीति तथा कार्यक्रम बजेट अनुसार आर्थिक बर्ष २०७९/०८० को काम धमाधम गर्दैछन् । तर, मकवानपुरगढीका नेतत्व २०७८/०७९ कै योजननामा अल्झिएका छन्, नयाँ योजनाको कुरै छोडौँ, प्रगति बिवरण कल्पना भन्दा बाहिरको कुरा ।
...
मकवानपुरगढी गाउँपालिकामा गत आर्थिक बर्षको धेरै योजनाको भुक्तानी रोकिएको गुनासो आयो । कुरा बुझ्दा प्राविधिक नभएको कारण भौतिक पुर्वाधारतर्फ मात्रै उपभोक्ता समितिमार्फत काम सम्पन्न भएका १ सय २३ वटा योजना र चालुतर्फ तीन दर्जन भन्दा बढीको भुक्तानी रोकिएको पाईयो ।
                                                                              उक्त विषयमा प्रहर खबर डटकमले पालिका उपाध्यक्ष मान कुमारी नेपालीको भनाई सहित समाचार प्रकाशित गर्यो । उनले भनेकी थिइन्,‘कर्मचारी छनोट अन्तिम चरणमा छ, हामी सम्पन्न भएका योजनाको अनुगमन गरेर दशैं अगाडि नै भुक्तानी दिन्छौँ ।’

पालिकामा प्राविधिक पनि आए । तर, दशैंसम्म पनि अधिकांश उपभोक्ता समितिले भुक्तानी पाएनन् । गाउँपालिका स्रोतका अनुसार भौतिक पुर्वाधारतर्फ अनुदान र बालमैत्री योजनाको भुक्तानी पुर्णरुपमा रोकिएको छ । भौतिक पुर्वाधारकै आन्तरिक स्रोतमार्फत भएका पाँच दर्जन भन्दा बढी योजना हुन बाँकी रहेको स्रोतले बतायो ।

किन रोकियो भुक्तानी ?
उपाध्यक्ष नेपालीले योजनाको अनुगमन सम्पन्न भएको जानकारी दिन समेत भ्याइन् । तर, योजना अनुगमन नभएको र कर्मचारी निकाल्दा ध्यान नपुर्याउदा भुक्तानी रोकिएको गाउँपालिकाकै एक प्रतिनिधिले बताए ।

‘गत आर्थिक बर्षमा सम्पन्न भएका योजना पुरानै प्राविधिकले हेर्नुपर्ने हुन्छ, सबै योजना अनुगमन गरी सकिएन, पुरानो प्राविधिक नभएको कारण पनि भुक्तानी रोकिएको हो,’ उनले भने ।

इन्जिनियरलाई कामबाट निकालेर पुनः नियुक्तीको लागि प्रस्ताब
गाउँपालिकाले गत असार ३२ गते कर्मचारी निकालेको सुचिमा इन्जिनियर पनि थिए । त्यसपछि छनोट प्रक्रिया अगाडी बढ्यो । इन्जिनियरको लिखित परिक्षामा सबै उम्मेदवार असफल भए ।

पुराना योजना पुरानो प्राविधिकले हेर्नुपर्ने भएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष आफैले कामबाट निकालेको इन्जिनियर सुवाष अधिकारीलाई दैनिक ज्यालादारीमा नियुक्ती दिन गए । तर, उनी काम गर्न राजी भएनन् ।

‘गाउँपालिका अध्यक्ष, उपाध्यक्ष दुबै जना ज्यालादारीमा काम गर्नु पर्यो भन्दै आउँनु भएको थियो, मेरो अन्यत्र काम भएको कारण उहाँहरुको प्रस्ताब अस्वीकार गरेको हुँ,’ उनले सुनाए ।

अयोग्य इन्जिनियरबाट धमाधम काम
इन्जिनियरको लिखित परीक्षा पास हुन असफल भएका उम्मेदवारलाई गाउँपालिकाले नियुक्ती दिएर धमाधम भुक्तानी दिएको छ । अधिकारीले प्रस्ताव अस्वीकर गरेपछि गाउँपालिकाले लिखित परीक्षामा फेल भएका जीवन घिमिरेलाई ज्यालादारीमा नियुक्ती दिएको हो । घिमिरलेलाई नियुक्ती दिएर गाउँपालिकाले करिब पाँच दर्जन योजनाको भुक्तानी दिएको गाउँपालिकाले जनाएको छ । उनी यसअघि यही गाउँपालिकाको नक्सा फाँटमा कार्यरत थिए ।