प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साढे १५ लाख नगदसहित दुईजना पक्राउ

२०८० कार्तिक १५, बुधबार १७:०७ बजे

काठमाडौं – चितवन र सिरहाबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् ।

चितवनकाे राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी कन्टेनर चालक चौधरीलाई पक्राउ गरेको हो ।

सिरहाकाे सखुवानान्कारकट्टि गाउँपालिका-५ बाट स्रोत नखुलेको नगद ४ लाख ९७ हजार ९ सय रुपैयाँसहित भारत मधुबनी ग्राम पञ्चायत सुगापट्टि-११ बस्ने २९ वर्षीय सन्तोष कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले ठाडिबाट लहानतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।