प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

केही ठाउँमा सामान्य वर्षाको सम्भावना, वायु प्रदूषण बढ्ने

२०८१ मंसिर ३, सोमबार ०८:३९ बजे


काठमाडौं – आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा सामान्य वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बदली र हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने बताइएको छ।

हाल पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको र तराईका केही भागमा हुस्सु लागेको छ। तर, अधिकांश ठाउँमा मौसम खुला रहेको महाशाखाले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यका र तराईका शहरी क्षेत्रमा आज पनि वायु प्रदूषणको स्तर उच्च देखिएको छ। वातावरण विभागअन्तर्गतका मापन केन्द्रहरूले हिजोको तुलनामा केही सुधार भए पनि प्रदूषणको अवस्था अझै खतरनाक रहेको बताएका छन्।

काठमाडौंको रत्नपार्कमा हावाको गुणस्तर मापन सूचक (एक्यूआई) १५२ रहेको छ। विश्व स्वास्थ्य संगठनले १५० भन्दा माथि पुगेको सूचकलाई अस्वस्थ मान्ने गर्छ। भक्तपुर, खुमलटार, र चितवनको भरतपुरमा पनि एक्यूआई १३० देखि १५० को बीचमा मापन भएको छ।


स्वास्थ्यकर्मीहरूले वायु प्रदूषणको असरबाट बच्न घरबाहिर निस्कँदा मास्क र चस्मा लगाउन सुझाव दिएका छन्। हावामा रहेका प्रदूषणका कण श्वासप्रश्वास र आँखामार्फत शरीरमा प्रवेश गर्नसक्ने भएकाले सावधानी अपनाउन भनिएको छ।

वातावरण विशेषज्ञहरूका अनुसार प्रदूषण कम गर्न दीर्घकालीन उपायहरू अपनाउनुपर्ने आवश्यकता छ। प्रदूषण घटाउन निजी सवारी साधनको प्रयोग कम गर्दै सार्वजनिक यातायातको प्रयोग र हरियाली प्रवर्द्धनमा जोड दिनुपर्ने बताइएको छ।