रुकुमपश्चिम – रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ को कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलकपदमा कार्यरत ३८ वर्षीय सुवर्ण सुनारको अरिङ्गालले टोकेर मृत्यु भएको हो ।
तीन दिनअघि अरि ङ्गालले चिलेर घाइते सुनार लाई उपचारका लागि आइतबार नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार शुक्रबार साथीहरूसंँग सल्यानको बाँफुखो लामा अरिङ्गाल झार्न गएका बेला सुनारलाई अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालले टोकेपछि तीन दिनसम्म झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार भएको र स्वास्थ्य अवस्था बिग्रँदै गएपछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको शरीरमा ५० भन्दा बढी ठाउँमा अरिङ्गालले टोकेका घाउ भएको बताइएको छ । मृतक सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव समेत हुन् । उनी जिल्लाकै उत्कृष्ट भलिबल खेलाडी र रेफ्री समेत हुन् ।