प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घरभित्र निसास्सिएर आमा छोराको मृत्यु

२०८१ पौष ५, शुक्रबार ०८:१८ बजे

वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगर–४ भैरबस्थानस्थित समावेशी टोलमा धुवाँमा निसास्सिएर आमा र छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो।

घरभित्र कोइला बालेको र त्यसबाट उत्पन्न धुवाँमा निसास्सिएको प्रारम्भिक रिपोर्ट आएको प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन्। घटनामा देवीसराकी ९ वर्षीया छोरी रिया थापा गम्भीर घाइते भएकी छन् र उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र प्रहरीलाई जानकारी प्राप्त भएको थियो। स्थानीय बासिन्दाले बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको छ। विशेषज्ञहरूले जाडो मौसममा घरभित्र कोइला, ग्यास वा अन्य इन्धन बाल्दा पर्याप्त हावाप्रवाह सुनिश्चित गर्न आग्रह गरेका छन्।