प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सुन्दर नगरी हेटौंडाको घर–घरमै थुप्रियो फोहोर, हप्ता दिनमा पनि उठ्दैन

२०७९ जेठ ८, आईतबार १३:५९ बजे

हेटौंडा – सुन्दर नगरी हेटौंडामा फोहोर संकलन प्रभावकारी नभएको भन्दै जनगुनासो बढेको छ । हेटौंडाको मुख्य बजार क्षेत्र तथा ग्रामिण भेगका स्थानीयहरुले फोहोर संकलन प्रभावकारी नभएको भन्दै गुनासो गरेका हुन् ।

हेटौंडाको प्रमुख राजमार्ग र मुख्य सहरी क्षेत्रमा फोहोर संकलन दैनिक गर्नुपर्ने भएपनि हप्ताको एक दिन मात्रै आउने गरेको स्थानीय ब्यवसायीहरु बताउँछन् । त्यस्तै हेटौंडाको भित्री क्षेत्रमा हप्ताको तीन पटक फोहोर संकलन गर्न जानुपर्नेमा हप्ताको एकपटक आउने गरेको स्थानीय बताउँछन् ।

फोहोर संकलन गर्न आउने समय नतोकिएको र आफु खुशी आउने गरेको उनिहरुको गुनासो छ । फोहोर संकलन प्रभावकारी नहुदा हप्ता दिन भन्दा बढी समय देखि फोहोर घरमै थुप्रिएको हेटौंडा उपहानगरपालिका वडा नं.२ मा ब्यवसाय संचालन गर्दै आएकी सुशिला न्यौपानेले बताइन् । फोहोर कोठामा थुप्रिएर दुर्गन्ध फैलिएको उनले सुनाइन् ।

भान्छा तथा घरायसी फोहोरबाट लाग्न सक्ने रोगबाट बच्न २४ देखि ४८ घण्टाभित्र ब्यवस्थापन गरिसक्नु पर्ने जनरल फिजिसियन डा. लोकेश भुजेल बताउँछन् । यदि सो समयभित्र ब्यवस्थापन नगरेको खण्डमा फोहोरको किटाणु फैलिएर झाडापखाला, टाइफाइट, छाला सम्बन्धि रोग लगायतको स्वास्थ्य सम्बन्धि समस्या देखापर्ने डा.भुजेलले बताए ।

यस विषयमा हेटौंडा उपमहानगरपालिका वातावरण शाखाकी प्रमुख शान्ति विश्वकर्माले ठेकेदार कम्पनीसंग छलफल गर्ने बताइन् । फोहोर संकलनको विषयमा धेरै गुनासो आएको बताउँदै विश्वकर्माले गुनासो निरन्तर आइरहे उपमहानगरपालिकाले राम्रो विकल्प छनोट गर्ने बताइन् ।

हेटौंडा उपमहानगरपालिकाको फोहोर ब्यवस्थान गर्न सम्झौता गरेको ग्रीन एण्ड क्लीन सिटि सर्भिसका संचालक नवराज खतिवडालाई सम्पर्क गर्दा चुनावको कारण नियमित फोहोर संकलन हुन नसकेको बताएपनि विगत लामो समयदेखिनै यो समस्या रहदै आएको छ । । उनले “कुन ठाउँमा फोहोर लिन गाडी आएन, म फोन गरेर पठाइदिन्छु ।” भन्दै थप विषयमा बोल्न चाहेनन् । उनले फोन काटिदिए ।