प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्रपाको काठमाडौँ केन्द्रित जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु, शहिद घोषणा गर्न र क्षतिपूर्ति दिन माग

२०८१ बैशाख ३, सोमबार १९:२० बजे

काठमाडौं – राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ । बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका डाँगीको काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए । आन्दोलनकारीलाई हटाउनेक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो ।

राप्रपाले डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । राप्रपाले डाँगीको दु:खद निधनले स्तब्ध भएका उल्लेख गर्दै उनको निधनले पार्टीलाई ठुलो क्षति भएको बताएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि भएको प्रशासनिक दमन निन्दनीय रहेको र नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।

डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष थिए । प्रवक्ता श्रेष्ठले भनेका छन्- 'प्रदर्शनमा प्रहरीको अन्धाधुन्ध लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहारबाट चार दर्जन बढी घाइते भएका, ति मध्ये कैयौं घाइते उपचारपछि घर फर्किसकेको र जटिल शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् । प्रहरीको दमन र अश्रुग्यास प्रहारबाट घाइते भएका डॅागीको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । डाँगीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको छ ।'

डाँगीको निधनमा शोक प्रकट गर्न राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।