हेटौंडा - मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो ।
जिल्लामा अहिले मतपेटिका ल्याउने काम धमाधम भईरहेको छ । तर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयबाट मतपेटिका ल्याउने क्रममा विवाद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्यस मतदानस्थालको मतपेटिका लिन मकवानपुर क्षेत्र नम्बर २ को (ख) उम्मेदवार ईन्द्र बहादुर बानियाँको टिपर पठाएपछि बिवाद भएको स्रोतले बतायो ।
स्रोतका अनुसार करिब आधा घण्टा मतपेटिका, सुरक्षाकर्मी र कर्मचारीलाई मतदानस्थाल तालाबन्दी गरेर राखिएको थियो। प्रहरीले बानियाँको टिपर पठाएको बिषयमा नेकपा एमाले, राप्रपा, रास्वपा लगाएत पार्टीका प्रतिनिधिले बिरोध जनाएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सरकारी सवारी नपठाएसम्म मतपेटिका मतदानस्थलमै राखिएको थियो । ढुवानी सवारी पठाएपछि करिब आधा घण्टा ढिलो गरि मतपेटिका गणनास्थल हेटौंडा-२ स्थित सिद्धार्थ माबिमा ल्याइएको बताइएको छ ।