हेटौंडा – मकवानपुर प्रहरीले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना सार्वजनिक गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत चाडपर्वका लागि ८१७ प्रहरी परिचालन गरिने जानकारी दिइएको छ ।
प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जुवातास, झै–झगडा, लुटपाट, गुण्डागर्दी रोक्न र सवारी दुर्घटना न्यूनीकरण गर्ने योजना ल्याएको मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले बताए । आइतवारदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा यात्रुको सहजतालागि चार स्थानमा नागरिक यात्रु हेल्प डेक्स स्थापना गरेर सञ्चालनमा ल्याईएको उनले बताए ।
हेटौंडा–१५, रातोमाटेमा विशेष चेकजाँच, हेटौंडा–११, थानाभ¥याङमा सवारी चालकलाई रिफ्रेस र परिवर्तन भए नभएको हेर्ने गरी डेस्क स्थापना, हेटौंडा–१ स्थित त्रिभुवनराजपथमा सुमोका यात्रुलाई सहजता प्रदान गर्ने गरी र हेटौंडा–१०, बसपार्कमा यात्रुबाहक सवारीको परीक्षण गर्ने प्रहरीको योजना छ ।
अघिल्ला वर्षको चाडपर्वमा भएको घटनालाई मध्यनजर गरेर यसवर्षको सुरक्षा योजना बनाइएको जानकारी दिर्दै प्रहरी प्रमुख रिजालले सवारी दुर्घटना, जुवातास नियन्त्रण, मादक पदार्थ सेवनबाट हुने झैझगडालाई विशेष निगरानी गर्ने स्पष्ट पारे । उनले तीनवटै चाडपर्व कुनैपनि अपराधविनै सम्पन्न गर्ने गरी सुरक्षा योजना लागू गरिएको बताए ।
सवारी लुटपाट रोक्नका लागि यात्रुबाहक बसमै हतियारसहित प्रहरी परिचालन, प्रहरी सुरक्षा योजना अनुसार बजार अनुगमन, मठमन्दिर तथा धेरै आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गर्ने मकवानपुर प्रहरीको योजना रहेको छ ।
चाडपर्वका बेला हेटौँडा–काठमाडौं चल्ने सुमोहरुले तोकिएको भाडादर भन्दा दोब्बर भाडा लिने गरेको गत बर्षहरुमा जनगुनासो आएको र यात्रुहरु ठगिएकाले यसबर्ष तोकेभन्दा बढी भाडा लिए प्रहरीको सहायता कक्ष वा प्रहरी चेकपोष्टहरुमा उजुरी दिन मकवानपुर प्रहरीले आग्रह गरेको छ ।