हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै नाराबाजी गरेको छ ।
बिहीबार साँझ तरुण दलले हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालको नेतृत्वमा निकालिएको जुलुस बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।
प्रर्दशनमा सहभागिहरुले कांग्रेस सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको निष्पक्ष छानबिनसहित दोषीलाई कारबाही गर्न माग गरेका थिए ।
उनीहरुले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई गृहमन्त्री श्रेष्ठले फसाएको आरोप लगाएको छ । आफूहरुको माग पुरा नभए सडक संघर्ष गर्ने चेतावनी समेत प्रदर्शकारीहरुले दिएका थिए ।