प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण: पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो

२०८० श्रावण २६, शुक्रबार ०४:०५ बजे

काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप दुई जना डाक्टर पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का अनुसार शिल्पकार काठमाडौंस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक हुन् भने चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन्।

शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट र चौधरीलाई मोरङबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ । योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

सिआइबीले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा संलग्नहरूलाई पक्राउ गर्न अपरेशन ‘फक्सट्रट चार्ली’ चलाएको छ। यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो । 

सिआइबीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, महोत्तरीका डा. रञ्जितकुमार यादव, डा. एरिना शाह र रौतहटका डा. रामबाबु यादवलाई पक्राउ गरेको थियो। बिहीबार नै नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका छन्।